जुम्ला । कृषि जैविक विविधता र स्थानीय खाद्य परिकारहरूको संरक्षण, प्रवर्द्धन तथा प्रचार–प्रसार गर्ने उद्देश्यले जुम्लामा कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला आयोजना हुने भएको छ । मंसिर २७ गते चन्दननाथ नगरपालिका–४ मा रहेको जिल्ला खेलकुद समितिको प्राङ्गणमा आयोजना हुने उक्त मेलाबारे जानकारी नगरपालिकाको कृषि विकास शाखाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले स्थानीय उत्पादन, मौलिक बाली तथा ती बालीबाट तयार गरिने परिकारहरूको प्रवर्द्धन नगरपालिकाको प्राथमिकता रहेको बताए । उनका अनुसार लोपोन्मुख रैथाने बाली र तिनबाट बनाइने परिकारहरू मेलाको मुख्य आकर्षण रहनेछन् ।
“स्थानीय कृषि उत्पादनको संरक्षण र प्रवर्द्धनसँगै किसान, उपभोक्ता तथा सरोकारवालाबीच प्रत्यक्ष समन्वय र संवादको वातावरण मेलाले निर्माण गर्नेछ,” उनले भने । जैविक विविधताको जगेर्ना र परम्परागत खाद्य संस्कृतिको पुनर्जीवन अहिलेको मुख्य आवश्यकता भएको उनले उल्लेख गरे ।
कृषि विकास शाखाका प्रमुख सरद पोखरेलका अनुसार सुरक्षित, पोषणयुक्त र स्थानीय उत्पादनको प्रयोगले समुदायको स्वास्थ्यमा सकारात्मक असर पारेको अनुभव भएकाले मेलाले जनस्तरमा महत्वपूर्ण सचेतना फैलाउने अपेक्षा गरिएको छ । मेलाले जैविक कृषि प्रवर्द्धन, परम्परागत प्रजातिको संरक्षण तथा कृषिमा नयाँ सम्भावनाको पहिचानमा सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।
मेलामा जुम्लाको कृषि पहिचानलाई मजबुत बनाउन किसानका नवीन उत्पादन, मौलिक बिउ–विजन र स्थानीय खाद्य परिकारहरू एकै स्थानमा प्रदर्शन गरिनेछन् । चन्दननाथ, तातोपानी र पातारासी पालिकाका किसानहरूले १२ वटा स्टलमार्फत सहभागिता जनाउनेछन । साथै कृषि सहकारीहरूबाट पनि रैथाने परिकारहरूको प्रदर्शनी हुनेछ ।
यसबाहेक चन्दननाथ र तातोपानीका अभिभावक तथा विद्यार्थीलाई रैथाने बालीमा आधारित दिवाखाजाबारे जानकारी दिने कार्यक्रमसमेत मेलामा समेटिएको छ, जसले विद्यालयहरूमा रैथाने दिवाखाजाको नियमित प्रयोगलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ ।
जैविक विविधता, परम्परागत संस्कृति, पोषण तथा स्थानीय उत्पादनलाई जोड्ने प्रयासका रूपमा जुम्लामा आयोजना हुन लागेको यो मेला जिल्लाको कृषि तथा सांस्कृतिक पहिचान सुदृढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको छ ।





