जुम्ला । नेकपा (एमाले)को इतिहासमा पहिलोपटक कर्णाली प्रदेशबाट केन्द्रीय पदाधिकारी पदका लागि उमेदवारी परेको छ। जारी ११औँ राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य यामलाल कँडेलले सचिव पदका लागि उमेदवारी दर्ता गराएका हुन्।

यसअघि १०औँ महाधिवेशनसम्म कर्णालीमा योग्य र अनुभवी नेता हुँदाहुँदै पनि केन्द्रीय पदाधिकारी तहमा प्रतिनिधित्व हुन सकेको थिएन। यसपटक अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट कँडेलले सचिव पदका लागि उमेदवारी दिएका छन्।
कर्णाली प्रदेशमा संगठन निर्माण र सुदृढीकरणमा लामो अनुभव हासिल गरेका कँडेललाई संगठनात्मक क्षमता भएका नेताका रूपमा लिइन्छ। उनको उमेदवारीसँगै कर्णालीको राजनीतिक प्रतिनिधित्व केन्द्रीय तहमा स्थापित हुने अपेक्षा गरिएको छ।





