जुम्ला । नेकपा एमालेको राजनीतिमा कर्णाली प्रदेशले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका यामलाल कँडेल नेकपा एमालेको केन्द्रीय कमिटी सचिवमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट कँडेल ११८५ मतसहित सचिवमा निर्वाचित भएका हुन् ।

कँडेलको यो विजयसँगै एमालेको केन्द्रीय पदाधिकारी तहमा कर्णाली प्रदेशको पहिलो पटक प्रतिनिधित्व सुनिश्चित भएको छ। पार्टीको पहिलो महाधिवेशनदेखि दशौँ राष्ट्रिय महाधिवेशनसम्म कर्णालीबाट कुनै पनि नेता केन्द्रीय पदाधिकारीमा पुग्न सकेका थिएनन्। लामो समयदेखि प्रतीक्षामा रहेको कर्णालीको प्रतिनिधित्व अब औपचारिक रूपमा केन्द्रीय नेतृत्वमा स्थापित भएको छ ।
पार्टी राजनीतिमा निरन्तर सक्रिय कँडेल केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य बनेका थिए। २०७८ मा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनबाट उनी पार्टीको स्थायी कमिटी सदस्यमा चयन भएका थिए। लामो राजनीतिक यात्रापछि सचिव पदमा पुग्नु कँडेलको व्यक्तिगत उपलब्धि मात्र नभई कर्णाली प्रदेशका लागि पनि ऐतिहासिक मोडका रूपमा हेरिएको छ ।
उनको निर्वाचनले पार्टीभित्र क्षेत्रीय समावेशिताको सन्देश दिनुका साथै कर्णालीको आवाज अब एमालेको केन्द्रीय निर्णय तहमा सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ ।





