जुम्ला । हिमाली जिल्ला जुम्लामा जाडो दिनप्रतिदिन बढ्दै जाँदा सामुदायिक विद्यालयहरू बन्द हुन थालेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने जोखिम बढे पछि सावधानी स्वरूप जिल्लाभरका सामुदायिक विद्यालयहरू बन्द गरिएको हो ।

जुम्लामा रहेका एक नगरपालिका र सात गाउँपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय हालका लागि बन्द गरिएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन् । पछिल्लो समय तापक्रम उल्लेखनीय रूपमा घट्दै गए पछि विद्यार्थीहरू र शिक्षक कर्मचारीलाई विद्यालय आउजाउ गर्न समेत कठिन हुन थालेको स्थानीयको भनाइ छ ।
बिहान र साँझको समयमा शून्य डिग्री आसपास पुग्ने चिसोका कारण बालबालिकामा पठनपाठनमा समस्या हुने हुदा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । सरस्वती माध्यमिक विद्यालय, कुडारीका शिक्षक शान्तिनाथ योगीका अनुसार हरेक वर्ष जस्तै यस वर्ष पनि जाडोको प्रभावलाई मध्यनजर गर्दै सामुदायिक विद्यालय बन्द गरिएको बताए ।
पछिल्ला दिनमा चिसो असह्य बन्दै गएको छ । विद्यार्थीहरू न्यानो कपडाको अभावमा समेत प्रभावित भएका छन् । स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
उनका अनुसार जुम्ला भित्रका सामुदायिक विद्यालयहरू आगामी फागुन महिना सम्म करिब दुई महिना बन्द रहने उनकाे भनाइ छ । यस अवधिमा विद्यार्थीहरूले घरमै बसेर अध्ययन गर्ने वातावरण बनाउन अभिभावकलाई आग्रह गरिएको छ ।
जाडोको असर सामुदायिक विद्यालयमा मात्र सीमित नरही निजी विद्यालयहरूमा पनि देखिन थालेको छ । जिल्लामा सञ्चालित निजी तथा संस्थागत विद्यालयहरूले पनि जाडोको अवस्थालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने तयारी थालेका छन् ।
निजी विद्यालयमा परीक्षा सकिए लगत्तै जाडो विदा दिने योजना बनाइएको प्याब्सन जुम्लाका अध्यक्ष टाँसी तोण्डुप लामाले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै परीक्षा सम्पन्न भएपछि विद्यालय बन्द गरिने बताए ।
उनले भने, जाडो अझै बढ्ने अनुमान गरिएको छ । त्यसैले परीक्षा सकेर विद्यार्थीलाई विदा दिने तयारीमा छौँ ।
स्थानीय अभिभावकहरूले विद्यालय बन्दको निर्णयलाई सकारात्मक रूपमा लिएका छन् ।
चिसो मौसममा बालबालिकालाई टाढाबाट विद्यालय पठाउँदा स्वास्थ्य जोखिम बढ्ने भएकाले विद्यालय बन्द हुनु उचित भएको उनीहरूको भनाइ छ । तर, लामो समय विद्यालय बन्द हुँदा पढाइमा असर पर्न सक्ने चिन्ता पनि अभिभावकनहरूले व्यक्त गरेका छन् ।
जुम्लामा हरेक वर्ष जाडो याममा विद्यालय बन्द गर्ने चलन रहे पनि यस वर्ष चिसो असामान्य रूपमा बढेको स्थानीयले बताएका छन् । मौसमविद्हरूका अनुसार अझै केही समय जाडो यथावत् रहने सम्भावना रहेको छ । यसले गर्दा जुम्लाको जनजीवन समेत प्रभावित हुने गरेकाे छ ।
जाडोको कठोरता बीच स्थानीय तह, विद्यालय प्रशासन र अभिभावक बीच समन्वय गरेर बालबालिकाको स्वास्थ्य जोगाउँदै शैक्षिक क्षति न्यूनिकरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।





