जुम्ला । हिमाली जिल्ला जुम्लामा जाडो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ। कठोर हिउँदले सबैभन्दा बढी असर ज्येष्ठ नागरिक र अपाङ्गता भएका बालबालिकामा पारिरहेको अवस्थामा चन्दननाथ नगरपालिका वडा नम्बर–७ ले मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै न्यानो कपडा वितरण गरेकाे छ ।

वडा कार्यालयको आयोजनामा ६० वर्ष उमेर माथिका ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गमा सूचीकृत अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी न्यानो कपडा वितरण गरिएको हो । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या नआओस् भन्ने उद्देश्यले गरिएको यो पहल स्थानीय स्तरमै उदाहरणीय बनेको छ ।
वडा अध्यक्ष गणेश महतले जुम्लाको हिउँद सामान्य जाडो नभई जीवनशैलीमै असर गर्ने खालको भएको बताउँदै, जोखिममा रहेका समुदायलाई न्यानोपनको अनुभूति गराउनु वडाको दायित्व भएको उल्लेख गरे ।
जाडोका कारण वृद्धवृद्धा र अपाङ्गता भएका बालबालिकामा स्वास्थ्य समस्या देखिन नदिन हामीले आफ्नै स्रोत साधन प्रयोग गरी न्यानो कपडा वितरण गरेका हौं,” अध्यक्ष महतले भने ।
उनका अनुसार कार्यक्रम पूर्ण रूपमा वडा नम्बर–७ को आर्थिक सहयोगमा सम्पन्न गरिएको हो । सीमित बजेट हुँदाहुँदै पनि वडाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको उनकाे भनाइ छ ।
न्यानो कपडा प्राप्त गरे पछि लाभग्राहीहरू खुसी भएका छन् । कतिपय ज्येष्ठ नागरिकले यस किसिमको सहयोगले आफूहरूलाई हिउँद कटाउन सहज हुने प्रतिक्रिया दिए । अपाङ्गता भएका बालबालिकाका अभिभावकहरूले पनि वडाको यो कदमले राहत महसुस भएको बताएका छन् ।
स्थानीय बासिन्दाहरूले चन्दननाथ–७ को पहलको खुलेर प्रशंसा गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् । उनीहरूको भनाइमा, स्थानीय सरकारको सानो सहयोगले पनि विपन्न र संवेदनशील वर्गको जीवनमा ठूलो प्रभाव पार्न सक्छ ।
सामाजिक सुरक्षा, मानवीयता र उत्तरदायित्वलाई केन्द्रमा राखेर गरिएको यो कार्यक्रमले स्थानीय सरकार जनताको नजिक र संवेदनशील हुन सक्छ भन्ने सन्देश दिएको छ। कठोर हिउँदमा न्यानोपन बाँड्ने चन्दननाथ–७ को प्रयासले अन्य वडाहरूका लागि पनि प्रेरणाको उदाहरण प्रस्तुत गरेको छ।





