जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरे सँगै जिल्लामा लागु औषध कारोबारको सम्भावित सञ्जाल बारे अनुसन्धान तीव्र बनाएको छ।

मंगलबार दिउँसो करिब साढे ३ बजे चन्दननाथ नगरपालिका–९ उमगाड गाउँका २२ वर्षीय कविन्द्र रावल पक्राउ परेका हुन्।हाल चन्दननाथ नगरपालिका–६ छिना गाउँमा बस्दै आएका रावलले आफ्नै घरमा लागुऔषध लुकाइछिपाइ राखेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादा पोशाकमा खटिएको टोलीले रावलको घरमा खानतलासी गर्दा ब्राउन सुगर बरामद भएको प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रबिनबाबु रेग्मीले बताए ।
खानतलासीका क्रममा रावलले लगाएको सेतो रंगको ज्याकेटको दायाँ गोजीभित्र कालो प्लास्टिकमा बेरी राखिएका दुई पुडिया तथा सुत्ने कोठाको माथिल्लो भागमा रहेको काठको कडीमा लुकाइराखिएका २६ पुडिया फेला परेका थिए। बरामद २८ वटै पुडिया परीक्षण गर्दा लागुऔषध ब्राउन सुगर पुष्टि भएको र तौल गर्दा शुद्ध ४ ग्राम ३ सय ४० मिलिग्राम रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सामान्य प्रयोगभन्दा बढी परिमाणमा ब्राउन सुगर फेला परेकाले रावल व्यक्तिगत प्रयोगकर्तामात्र नभई कारोबारमा संलग्न हुन सक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको छ ।
बरामद लागुऔषध कसरी जुम्लासम्म आइपुग्यो, यसका स्रोत र संभावित संलग्न व्यक्तिहरू को–को हुन् भन्नेबारे सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।पछिल्लो समय कर्णालीका जिल्लाहरूमा लागुऔषध ओसारपसार र प्रयोग बढ्दो क्रममा रहेको प्रहरीको आकलन छ ।
विशेषगरी युवा पुस्ता लक्षित कारोबार बढ्दै गएपछि निगरानी र सूचनाका आधारमा छापा अभियानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रावललाई जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा राखी लागुऔषध (नियन्त्रण) ऐनअनुसार आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनासँग जोडिएका अन्य व्यक्ति वा सञ्जाल खुल्न सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी राखेको छ।





