जुम्ला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विभाजनको जोखिम बढ्दै गएको संकेत गरेका छन्। पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि ध्यानाकर्षण गराउन पुगेका २५ जना केन्द्रीय सदस्यहरूसँगको भेटमा उनले यस्तो स्वीकार गरेका हुन ।

सभापति देउवाले आफू पार्टी विभाजन नहोस् भन्ने पक्षमा रहेको स्पष्ट पारेका छन्। देउवालाई भेट्न पुगेका केन्द्रीय सदस्यहरू निर्वाचनअघि नै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गरिरहेका नेताहरू हुन्। उनीहरूले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्ने कार्यक्रम तय गरेका छन ।
यो समूह निर्वाचनअगाडि नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिँदै आएको छ भने विशेष महाधिवेशनको पक्षमा भने छैन। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको मिति घोषणा गरेपछि पार्टीभित्रको विवाद समाधान गर्न यो समूह सक्रिय भएको हो ।
यसअघि १६ पुसका लागि तय गरिएको वडा अधिवेशन हुन नसकेपछि महामन्त्रीद्वयले नियमित अधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको घोषणा गरेका थिए। उनीहरूका अनुसार विशेष महाधिवेशन २७ पुसदेखि सुरु हुनेछ र यसका लागि भृकुटीमण्डपको हलसमेत बुक भइसकेको छ।
पछिल्ला घटनाक्रमले पार्टीभित्र विवाद चर्किएपछि नेपाली कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। उक्त बैठकले पार्टीको आन्तरिक संकट र महाधिवेशनसम्बन्धी विवादमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।





