क्रान्तिकारी सरकारले संयुक्त राज्य अमेरिका द्वारा भेनेजुएलामाथि गरिएको सैन्य आक्रमणको कडा शब्दमा निन्दा गर्दछ र दिदी–बहिनी बोलिभेरियन गणतन्त्र भेनेजुएला तथा यसको सरकार प्रति क्युबाको पूर्ण समर्थन र ऐक्यबद्धता पुनः दृढतापूर्वक दोहोर्याउँछ । क्युबाले कार्यकारी उपराष्ट्रपति, सहयोद्धा डेल्सी रोड्रिगेजको सम्बोधनलाई समर्थन गर्दछ र संयुक्त राज्य अमेरिकाको सरकारले संवैधानिक राष्ट्रपति निकोलास मादुरो मोरोस र सहयोद्धा सिलिया फ्लोरेसको कुशलक्षेमबारे प्रमाण प्रस्तुत गर्नुपर्ने उनको मागलाई समर्थन गर्दछ । साथै, आक्रमणको विरोध गर्दै आफ्नो स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्ने बोलिभेरियन तथा चाभिस्टा सरकार र जनताको दृढ संकल्पलाई पनि समर्थन गर्दछ ।

यो कायर अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको उल्लङ्घन गर्दै गरिएको आपराधिक कृत्य हो । यो संयुक्त राज्य अमेरिकाले लामो समयदेखि दिदी राष्ट्र भेनेजुएला विरुद्ध चलाउँदै आएको युद्ध अभियानको खतरनाक स्तरवृद्धि हो, जुन सेप्टेम्बर २०२५ देखि झुटा बहाना र अप्रमाणित आरोपहरूको आधारमा क्यारिबियन सागरमा आक्रामक नौसैनिक तैनाथी सहित झन् तीव्र बनेको छ ।
क्युबाले संयुक्त राज्यका अधिकारीहरू द्वारा राष्ट्रपति निकोलास मादुरो मोरोस र सहयोद्धा सिलिया फ्लोरेसलाई तत्काल रिहा गर्न जोडदार माग गर्दछ।
यो प्रभुत्व स्थापना गर्ने उद्देश्यले गरिएको साम्राज्यवादी र फासिवादी आक्रमणको स्पष्ट उदाहरण हो, जसले मोन्रो सिद्धान्तमा आधारित “हाम्रो अमेरिका” माथि अमेरिकी वर्चस्ववादी महत्त्वाकांक्षा पुनर्जीवित गर्न खोज्दै भेनेजुएला तथा क्षेत्रका प्राकृतिक स्रोतहरू माथि निर्बाध पहुँच र नियन्त्रण हासिल गर्ने लक्ष्य राखेको छ । यसले ल्याटिन अमेरिका र क्यारिबियनका सरकारहरूलाई डर देखाई अधीनस्थ बनाउन पनि खोजेको छ ।
यस गैरजिम्मेवार कार्यका परिणामहरू अझै देखिन बाँकी छन । संयुक्त राज्य सरकार, राष्ट्रपति डोनाल्ड ट्रम्प, उनका विदेशमन्त्री, तथा त्यहाँ उल्लेखनीय राजनीतिक प्रभाव हासिल गरेका ल्याटिन अमेरिका र क्यारिबियन विरोधी शत्रुतापूर्ण शक्तिहरू यस आक्रमणबाट भइसकेको जीवनहानि तथा मानवीय र भौतिक क्षतिका साथै भविष्यमा हुन सक्ने क्षतिका लागि पूर्ण रूपमा जिम्मेवार छन ।
क्षेत्रका सरकारहरूले आफ्ना जनताको तर्फबाट जनवरी २०१४ मा हवानामा ल्याटिन अमेरिका र क्यारिबियन लाई शान्ति क्षेत्र घोषणा गर्ने उद्घोषणामा सर्वसम्मत हस्ताक्षर गरेका थिए । आज यही आकांक्षा माथि संयुक्त राज्य अमेरिकाले आक्रमण गरिरहेको छ ।
अन्तर्राष्ट्रिय समुदायले संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रमाथि यस किसिमको गम्भीर र व्यापक आक्रमण दण्डविनै हुन दिनु हुँदैन । सैन्य कारबाही मार्फत एक सार्वभौम राष्ट्रका वैध, सत्तारूढ राष्ट्रपतिलाई अपहरण गर्नुको परिणाम अवश्य हुनुपर्छ । भेनेजुएला शान्तिपूर्ण देश हो, जसले संयुक्त राज्य अमेरिका वा कुनै पनि राष्ट्रमाथि आक्रमण गरेको छैन ।
भेनेजुएला यसको जनताका लागि, क्युबाका लागि जस्तै, आवश्यक परे आफ्नै रगत समेत अर्पण गर्न हामी तयार छौ ।
क्रान्तिकारी सरकारले विश्वका सबै सरकार, संसद , सामाजिक आन्दोलन र जनतालाई संयुक्त राज्य अमेरिका द्वारा भेनेजुएला माथि गरिएको सैन्य आक्रमणको निन्दा गर्न र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षालाई खतरा पुर्याउने तथा विश्वभरि विशेषतः ल्याटिन अमेरिका र क्यारिबियनमा नयाँ अमेरिकी साम्राज्यवादी प्रभुत्व थोपर्न खोज्ने यस राज्य आतङ्कवाद विरुद्ध उभिन आह्वान गर्दछ ।
क्षेत्रका सबै राष्ट्रहरू सतर्क रहनुपर्छ, किनकि खतरा सबैमाथि मडारिएको छ। क्युबामा, लड्ने हाम्रो संकल्प दृढ र अडिग छ । एउटै बाटो छ: मातृभूमि वा मृत्यु ।
हामी जित्नेछौँ !
हवाना, जनवरी ३, २०२६





