काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफ्नो गुटको आकस्मिक बैठकमा शेखर कोइराला समूहका चार नेता सहभागी भएका छन ।
देउवाले सोमबार दिउँसो ३ बजे आफ्नै निवास महाराजगन्जमा गुटको बैठक बोलाएका थिए। बैठक चलिरहेका बेला डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे र डा. मिनेन्द्र रिजाल बैठकमा पुगेका हुन ।
देउवा गुटतर्फबाट बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरू सहभागी छन ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नेतृत्व चयनसहितको कार्यविधि पारित गरेपछि देउवा आगामी राजनीतिक रणनीति तय गर्न छलफलमा जुटेको बताइएको छ। देउवा गुट विशेष महाधिवेशनको विपक्षमा रहे पनि बहुमत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनलाई समर्थन जनाएका छन ।






