काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन प्रक्रिया सुरु भएसँगै झापा निर्वाचन क्षेत्र नम्बर–५ राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ। यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि–केन्द्रित आक्रामक चुनावी रणनीतिसहित मैदानमा उत्रिँदा प्रतिस्पर्धा थप रोचक बनेको छ।

झापा–५ बाट ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बनेका छन्। काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा प्रवेश गरेका शाहसँगै नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङ लगायत उम्मेदवार पनि चुनावी मैदानमा छन्।
झापा–५ लाई चुनावी ‘हटस्पट’ बनाउने प्रमुख कारण दुवै ठूला दलले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्नु हो। एमालेले अध्यक्ष ओलीलाई आगामी सरकारको नेतृत्वकर्ता मान्दै चुनावी प्रचार थालेको छ भने रास्वपाले शाहलाई नयाँ पुस्ताको राष्ट्रिय नेतृत्वको प्रतीकका रूपमा अघि सारेको छ।
बालेन्द्र शाहले परम्परागत आमसभा भन्दा डिजिटल माध्यमलाई प्राथमिकतामा राख्दै प्रचार अघि बढाइरहेका बेला एमाले अध्यक्ष ओलीले पनि प्रविधिमा आधारित प्रचार रणनीति अपनाएका छन्। ओली निकट स्रोतका अनुसार करिब २५ जना सूचना प्रविधि (आईटी) विज्ञहरूको विशेष टोली बुधबार झापा पुग्ने तयारीमा छ ।
उक्त टोलीको नेतृत्व अस्गर अलीले गर्नेछन्। अली ओली प्रधानमन्त्री हुँदा उनका आईटी सल्लाहकार थिए। टोलीले ओलीको कार्यकालमा झापा–५ मा भएका विकास निर्माण, पूर्वाधार विस्तार, सडक, खानेपानी तथा सामाजिक क्षेत्रका उपलब्धिहरूलाई डकुमेन्ट्री, इन्फोग्राफिक्स र छोटा भिडिओ सामग्रीमार्फत सामाजिक सञ्जालमा प्रस्तुत गर्ने रणनीति बनाएको छ ।
एमाले नेतृत्वले युवा मतदातालाई लक्षित गर्दै फेसबुक, युट्युब, टिकटक र एक्स (ट्विटर) जस्ता प्लेटफर्ममार्फत तथ्यमा आधारित प्रचारलाई प्राथमिकता दिने जनाएको छ। ओली स्वयंले पनि प्रविधि–मैत्री अभियानमार्फत भ्रम चिर्ने र आफ्नो राजनीतिक अनुभव तथा विकास एजेन्डालाई जनतामाझ पुर्याउने तयारी गरेका छन ।
अघिल्ला निर्वाचनहरूमा झापा–५ केपी शर्मा ओलीका लागि सुरक्षित क्षेत्र मानिँदै आएको थियो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनले ठूलो मतान्तरसहित विजय हासिल गरेका थिए। तर यसपटक नयाँ राजनीतिक शक्तिको उदय, युवा मतदाताको सक्रियता र डिजिटल प्रचारको प्रभाव बढेसँगै एमालेले चुनावी रणनीतिमा व्यापक परिवर्तन गरेको देखिन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार झापा–५ को नतिजाले आगामी राष्ट्रिय राजनीति र सत्ता समीकरणमा गहिरो प्रभाव पार्न सक्नेछ। त्यसैले पनि यो निर्वाचनलाई केवल क्षेत्रीय प्रतिस्पर्धा नभई राष्ट्रिय राजनीतिक दिशानिर्देशकको रूपमा हेरिएको छ।





