जुम्ला । हिमा गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईईको तयारीमा जुटिरहेका विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्य सहित शैक्षिक सामग्री सहयोग गरेकाे छ ।

गाउँपालिका अन्तर्गत पर्ने अन्नपूर्ण माध्यमिक विद्यालय, धाचुगाउँमा एसईई तयारी कक्षा तथा विभिन्न कोचिङ कक्षामा अध्ययनरत १५० जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई कपी र डटपेन वितरण गर्दै शिक्षा क्षेत्रमा लगानी गर्नु नै समृद्ध भविष्यको आधार भएको बताए ।
उनले दुर्गम क्षेत्रका विद्यार्थीहरूले सीमित स्रोत साधनका बीच पनि मेहनतका साथ अध्ययन गरिरहेको उल्लेख गर्दै गाउँपालिका सधै विद्यार्थी र शिक्षाको पक्षमा उभिने अध्यक्ष शाहीले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले एसईई परीक्षा दिने विद्यार्थी जीवनको महत्वपूर्ण मोड भएको उल्लेख गर्दै भने,
एसईई केवल परीक्षा मात्र होइन, यो भविष्य निर्माणको ढोका हो ।
अनुशासन, निरन्तर अभ्यास र आत्मविश्वासका साथ परीक्षामा सहभागी हुनु अध्यक्ष शाहीले अनुराेध गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको समेत उपस्थिति रहेको थियो ।
उनीहरूले संयुक्त रूपमा स्टेशनरी सामग्री वितरण गर्दै विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गरे । उपाध्यक्षले शिक्षा क्षेत्रमा यस्ता साना तर प्रभावकारी सहयोगले विद्यार्थीहरूको आत्मबल बढ्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
प्रमुख प्रशासकीय रण बहादुर बुढाले एसईई तयारी कक्षा तथा कोचिङ कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले गाउँपालिकाले विद्यालय शिक्षा सुधार, विद्यार्थी केन्द्रित कार्यक्रम र सिकाइ उपलब्धि वृद्धिमा प्राथमिकता दिएको जानकारी गराए ।
स्टेशनरी सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए । उनीहरूले गाउँपालिकाले आफूहरूलाई सम्झेर सहयोग गरेकोमा खुसी व्यक्त गर्दै अझ मेहनत गरेर राम्रो नतिजा ल्याउने प्रतिबद्धता जनाए ।
विद्यार्थीहरूका अनुसार कपी र कलम जस्ता आधारभूत शैक्षिक सामग्रीले अध्ययनमा थप सहजता ल्याउनेछ ।
विद्यालय प्रशासन तथा शिक्षकहरूले पनि गाउँपालिकाको यस पहलको प्रशंसा गर्दै दुर्गम क्षेत्रका विद्यार्थीहरूको लागि यस्ता कार्यक्रम प्रेरणादायी हुने बताए ।





