जुम्ला । शुक्रबारको मध्यरात देखि जुम्लामा लगातार परेको हिमपातले जिल्लाको जनजीवन सेताम्मे मात्र बनाएन, किसानको मन पनि उज्यालो बनाइदियो । अँध्यारो आकाश बाट फिल्का नाच्दै झर्ने हिउँका कणहरू जति बाक्लिँदै गए, उति किसानका अनुहारमा आशा र खुसी थपिँदै गएको छ ।

खेत, पाखा, वन र बस्ती सेतो ओढारले ढाकिए सँगै जुम्लामा फेरि एकपटक हिउँ सँग गाँसिएको जीवन चक्र सक्रिय बनेको छ । जुम्लामा हिउँ पर्नुलाई प्राकृतिक विपत्ति होइन, उत्पादनको आधार मानिन्छ । त्यसैले यो पटकको हिमपातलाई किसानहरूले ढिलै आए पनि समयमै परेको सेतो वरदानका रूपमा लिएका छन ।
जुम्लाको कृषि प्रणाली हिउँ सँगको सम्बन्ध गहिरो रूपमा जोडिएको छ । यहाँ उत्पादन हुने जौ र गहुँ जस्ता हिउँदे बालीका लागि हिउँ सबैभन्दा भरपर्दो सिँचाइ हो । हिउँ जमिनमा थुप्रिएर बिस्तारै पग्लँदा माटोमा लामो समय सम्म चिस्यान रहन्छ जसले बालीलाई आवश्यक पानी प्रदान गर्छ ।
स्थानीय किसानहरूका अनुसार हिउँ परेपछि गहुँको बोट बलियो हुन्छ, बाला राम्रो लाग्छ र उत्पादन पनि बढ्छ । “पानी परे भन्दा हिउँ परेपछि बाली टिकाउ हुन्छ, एक किसान भन्छन हिउँ भनेको हाम्रो खेतको मलजस्तै हो ।
जुम्ला स्याउ, आरू, ओखर, नास्पाती जस्ता उच्च मूल्यका फलफूलका लागि देशभर चिनिएको छ । यी फलफूलका बोटलाई आवश्यक पर्ने चिसो घण्टा र पानीको आपूर्ति हिउँबाट नै पूरा हुन्छ । हिउँदमा राम्रो हिमपात भयो भने वसन्तमा फूल राम्रो लाग्ने र फलको गुणस्तर बढ्ने किसानहरूको अनुभव छ ।
हिउँ पग्लिएर बिस्तारै जमिनमा समाउँदा भूमिगत पानी पुनः भरिन्छ । यही पानीले गर्मी याममा पनि बगैँचा हरियाली रहन्छ । त्यसैले जुम्लाका किसान हिउँलाई प्राकृतिक जलसञ्चयका रूपमा हेर्छन ।
हिउँको असर खेत र बगैँचामा मात्र सीमित छैन । जुम्लाको वनमा पाइने अत्यन्तै मूल्यवान गुच्ची च्याउको हिउँ सँग प्रत्यक्ष सम्बन्ध जोडिएको मानिन्छ । हिउँ बढी परेपछि वसन्त ऋतुमा गुच्ची च्याउको उत्पादन बढ्ने गरेको स्थानीयहरूको अनुभव छ । गुच्ची च्याउ पनि धेरै परिवारको नगद आम्दानीको मुख्य स्रोत बनेको छ ।
त्यसैगरी, उच्च पाटनमा पाइने महँगो जीवनबुटी यार्सागुम्बा पनि पर्याप्त हिमपातसँग जोडिएको छ । हिउँ कम पर्दा यार्सागुम्बाको उत्पादन घट्ने गरेको बताइन्छ । यस अर्थमा हिउँ जुम्लाको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड जस्तै बनेको छ ।
जुम्लाको सामाजिक र सांस्कृतिक जीवनमा पनि हिउँको विशेष स्थान छ । माघ महिनामा हिउँ परेको दिन अत्यधिक चिसो भए पनि त्यसपछि मौसम खुल्दै जान्छ र स्थानीय रूपमा हिउँद सकिएको मानिन्छ । यही समय देखि मेला, देउडा, सामाजिक जमघट र विवाहका कार्यक्रमहरू फेरि चलायमान हुन्छन ।
हिउँले बाटो बन्द गर्छ, दैनिक जीवन केही दिन प्रभावित हुन्छ, तर त्यससँगै मान्छेहरू एकअर्कासँग नजिकिन्छन । आगो ताप्दै कथा सुनाउने, देउडाका भाका गुन्गुनाउने चलन छिटफुट रूपमा अझै जीवित छ ।
जुम्ला हिउँ साहित्य, संस्कृति र परम्परामा निकै धनी मानिन्छ । लोकगीत, देउडा, उखान टुक्कामा हिउँ बारम्बार आउँछ । हिउँ यहाँ केवल मौसम होइन, अनुभूतिको भाषा हो ।
देउडा साहित्यमा हिउँ प्रेम, दूरी र प्रतीक्षाको प्रतीक बनेर आउँछ । जस्तै
“हिउँ आयो हिउँचुलीबाट,
मेघ आयो मालबाट।
म चिठी पठाउन्या छिँया,
पछ्यैरी तालबाट।”
यी पंक्तिहरूले जुम्लाको जीवनशैली, भौगोलिक कठिनाइ र मानवीय संवेदनालाई एकैसाथ प्रस्तुत गर्छन ।
यद्यपि पछिल्ला वर्षहरूमा जुम्लामा हिउँको मात्रा र समय अनिश्चित बन्दै गएको छ । जलवायु परिवर्तनको असर यहाँ पनि स्पष्ट देखिन थालेको छ । पहिले नियमित रूपमा पर्ने हिउँ केही बर्ष यता कहिले ढिलो पर्छ, कहिले अत्यन्तै कम पर्छ, त कहिले अत्यधिक एकै पटक ।
हिउँ कम पर्दा कृषि उत्पादन घट्ने, फलफूलमा रोग बढ्ने, मुहान सुक्ने र वनमा आधारित आम्दानी प्रभावित हुने गरेको किसानहरूको गुनासो छ । यसले जुम्लाको दीर्घकालीन कृषि र अर्थतन्त्रमा चुनौती थपेको छ ।
किसानहरू भन्छन , हिउँ जोगिनु भनेको खेती, वन, संस्कृति र जीवन जोगिनु हो । त्यसैले वन संरक्षण, पानीका स्रोत जोगाउने, परम्परागत कृषि प्रणाली सुदृढ बनाउने काम आज झनै आवश्यक भएको छ ।
हिउँको महत्त्व जुम्लामा केवल दृश्य सौन्दर्यमा सीमित छैन । यो उत्पादन, आम्दानी, संस्कृति र पहिचान सँग गाँसिएको विषय पनि हो । शुक्रबार मध्यरातदेखि परेको हिमपातले जुम्लामा फेरि एकपटक किसानको मनमा आशा रोपेको छ ।
अँध्यारो आकाश बाट झरेको हिउँले खेत मात्र सेतो बनाएको छैन, भविष्यप्रतिको भरोसा पनि उज्यालो बनाएको छ । जुम्लामा हिउँ पर्नु भनेको केवल मौसम बदलिनु होइन,
जीवन चल्नु हो ।





