जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लाेकतान्त्रीक पार्टीका उम्मेदवार मनऋषि धितालले समृद्ध जुम्लाको साझा सङ्कल्पपत्र २०८२ सार्वजनिक गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार धितालले परम्परागत आश्वासन मुखी राजनीति माथि प्रहार गर्दै

“दासताको होइन, आस्थाको राजनीति गरौं !
स्वार्थको होइन, सेवाको राजनीति गरौं !!
आश्वासनको होइन, सङ्कल्पको राजनीति गरौं!!!
भन्ने नारा अघि सारेका छन् । सार्वजनिक गरिएको सङ्कल्पपत्रको सुरुवातमै उनले स्पष्ट सन्देश दिएका छन ।अब जुम्लाले भाषण होइन, नीतिगत नेतृत्व र व्यवहारिक परिणाम खोजेको छ। जुम्लाको भूगोल, माटो र जनसमुदायको संघर्ष र पीडालाई नजिक बाट बुझेको तपाईंहरूकै प्रतिनिधि भएको बताए ।
उनले भने, म त्यो प्रतिनिधि हुने छैन जो चुनाव जिते पछि काठमाडौँका महलहरूमा हराउँछ । म जुम्लाको स्वाभिमानको पहरेदार भएर संसदमा निर्भीक गर्जनेछु । धितालको घोषणापत्र जुम्लाको ऐतिहासिक गौरव पुनर्जागरण देखि आधुनिक विकासको खाका सम्म फैलिएको छ ।
सिंजा सभ्यताको ऐतिहासिक धरोहर, हिमाल,तालतलैयाको प्राकृतिक सम्पदा, रैथाने स्याउ, सिमी र मार्सी चामलको ब्रान्डिङ र व्यावसायीकरण लाई उनले प्राथमिकतामा राखेका छन् ।
उनले कृषि क्रान्तिलाई रोजगारी सिर्जना सँग जोड्ने, पर्यटनलाई स्थानीय अर्थतन्त्रको मेरुदण्ड बनाउने, तथा पशुपालन लाई आधुनिक प्रविधि सँग एकीकृत गर्ने लक्ष्य प्रस्तुत गरेका छन् । हाम्रो पसिनाको मूल्य राज्यले दिनु पर्ने उनकाे स्पष्ट धारणा रहेकाे छ । उनले भने, जुम्लाको उत्पादन देशव्यापी पहिचान बन्नुपर्छ ।
सङ्कल्पपत्रमा सुशासन, पारदर्शिता र समावेशीकरणलाई मुख्य आधार बनाइएको छ। भ्रष्टाचार र कुशासनको सञ्जाल तोड्ने उद्घोष गर्दै उनले राजनीति पुनः जनताको हातमा फर्काउने प्रतिबद्धता जनाएका छन् ।
सांसद हुनु मेरो लागि व्यक्तिगत लाभको विषय होइन, उनले स्पष्ट पारे, यो जुम्लाका प्रत्येक गाउँपालिका र वडालाई बलियो बनाउने पवित्र अभियान हो ।
उनका अनुसार, उच्च तहका योजनाकार भन्दा भुइँ तहका जनताको अनुभव र ज्ञानलाई केन्द्रमा राखेर विकासको खाका तयार गरिनेछ । शिक्षा, स्वास्थ्य, सडक, सञ्चार र पूर्वाधार विकासलाई एकीकृत ढङ्गले अघि बढाइने उनले बताए ।
धितालले युवालाई वैदेशिक पलायन बाट फर्काएर स्थानीय उद्यमशीलतामा जोड्ने योजना अघि सारेका छन् । सीप विकास, कृषि–आधारित उद्योग, पर्यटन गाइड तालिम, तथा सूचना–प्रविधि सम्बन्धी कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य उनले सार्वजनिक गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा विस्तार, सामुदायिक अस्पताल सुदृढीकरण र मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ ।
सिंजामा जन्मिएका धिताल विगत तीन दशक देखि नेपाली राजनीतिक आन्दोलन र पत्रकारितामा सक्रिय थिए । उनले त्रिभुवन विश्वविद्यालय बाट स्नातक र पूर्वाञ्चल विश्वविद्यालय बाट स्नातकोत्तर गरेका छन् ।
वि.सं. २०४६/४७ को जनआन्दोलन बाट राजनीतिक चेतना प्राप्त गरेका उनले २०५०/५१ मा बामपन्थी राजनीतिमा संगठित हुँदै यात्रा सुरु गरे । २०५२ देखि २०६३ सम्मको जनयुद्धकालीन जोखिमपूर्ण समय र त्यसपछिको शान्ति प्रक्रियामा वैचारिक तथा साङ्गठनिक जिम्मेवारी निर्वाह गरेको अनुभव उनीसँग छ । उनी पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत र
भइ सकेका छन् ।
धिताल केवल राजनीतिज्ञ मात्र होइनन्, एक अनुभवी पत्रकार र लेखक पनि हुन् । उनले ३० वर्ष भन्दा बढी समय पत्रकारितामा बिताएका छन् । अंग्रेजी भाषामा ‘द फाइनल डेज अफ पिपुल्स वार’ र नेपाली भाषामा जनयुद्ध सम्बन्धी आधा दर्जन डायरी सहित एक दर्जनभन्दा बढी कृतिहरू लेखन तथा सम्पादन गरेका छन् ।
जनादेश साप्ताहिकका पूर्व सम्पादक धितालले आफ्नो कार्यकालमा देशका शीर्ष नेताहरू बाबुराम भट्टराई, पुष्पकमल दाहाल, केपी शर्मा ओली, झलनाथ खनाल र माधव कुमार नेपाल लगायतका वैचारिक लेख र अन्तर्वार्ताहरू सम्पादन,प्रकाशन गरेका थिए ।
धितालको जीवनको अर्को आयाम समाज सेवा हो । देश भित्र मात्र होइन, विदेशमा रहँदा पनि उनले संकटमा परेका नेपालीहरूको उद्धारमा भूमिका खेलेका छन् । मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूलाई सहयोग, लागूऔषध तथा जुवाको कुलतमा फसेका युवाको पुनर्स्थापना, काठमाडौँमा सरसफाइ अभियान र समुदायस्तरमा पुस्तकालय स्थापना जस्ता कार्यमा उनी सक्रिय रहे ।
गरे के हुँदैन ? भन्ने विश्वासका साथ समुदाय सँग प्रत्यक्ष काम गरेको अनुभव उनले साझा गरेका छन् । धितालको घोषणा पत्र केवल राजनीतिक दस्तावेज मात्र होइन, जुम्लाको स्वाभिमान पुनर्स्थापना गर्ने अभियानको घोषणापत्र भएको दाबी गरिएको छ ।
उनले जुम्लाबासीलाई अपिल गर्दै भने, यो वैकल्पिक यात्रामा साथ दिनुहोस् । आगामी पुस्ताका लागि सुन्दर, सुशिक्षित, सभ्य, स्वस्थ, स्वाभिमानी र स्वावलम्बी जुम्ला निर्माण गरौ ।
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा धितालको सङ्कल्पको राजनीति कति प्रभावकारी बन्छ भन्ने प्रश्न मतदाताको हातमा छ। तर एउटा कुरा स्पष्ट छ । जुम्लाको चुनावी मैदानमा यसपटक आश्वासन होइन, सङ्कल्पको बहस सुरु भएको छ ।





