जुम्ला । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा जुम्लामा चुनावी माहोल तातिएको छ । यसैबीच नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार दिप बहादुर शाही र समानुपातिक तर्फकी उम्मेदवार नविना के.सी. बडुवालले संयुक्त रूपमा आफ्नो विस्तृत प्रतिज्ञा–पत्र सार्वजनिक गरेका छन् ।

समुन्नत जुम्ला, सुखी जुम्लावासी भन्ने मूल नारा सहित सार्वजनिक गरिएको प्रतिज्ञा–पत्रमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, कृषि, पर्यटन, ऊर्जा र रोजगारीका महत्वाकांक्षी योजनाहरू समेटिएका छन् ।
प्रतिज्ञा–पत्रमा जुम्लालाई कर्णालीको नमूना जिल्लाका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्याइएको छ । उम्मेदवार शाहीले जुम्लाको आवाज संघीय संसद सम्म सशक्त रूपमा पुर्याउने अठोट व्यक्त गर्दै विकासका योजनालाई कागजमा सीमित नराखी कार्यान्वयनमा जोड दिने बताएका छन् ।
प्रतिज्ञा–पत्र अनुसार सिंजा क्षेत्रमा ५० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि पहल गरिने उल्लेख छ । आम सर्वसाधारणको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न नियमित स्वास्थ्य सम्बन्धी अभियान सञ्चालन गरिने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा थप गुणस्तरीय र प्रभावकारी बनाउन संघीय सरकारसँग आवश्यक पहल गरिने प्रतिबद्धता गरिएको छ ।
“स्वस्थ जुम्लावासी, समुन्नत जुम्ला” कार्यक्रम मार्फत जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिला लगायतका लक्षित समूहलाई निःशुल्क स्वास्थ्य जाँच र परामर्श सेवा विस्तार गर्ने योजना पनि समावेश गरिएको छ । साथै विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा व्यवस्था प्रभावकारी बनाउने उल्लेख छ ।
जुम्लाका दुर्गम बस्तीहरूलाई सडक सञ्जाल सँग जोड्न विशेष पहल गरिने प्रतिज्ञा–पत्रमा उल्लेख छ । सिंजा, गमगढी, जाजरकोट जोड्ने सडक खण्डको स्तरोन्नति, सुरूङ् मार्गबाट जाजरकोट, डोल्पा जोड्ने मार्ग विस्तार, र कुडारी,सम्पर्क मार्गहरूको निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
जुम्ला सुरुङमार्गको प्रारम्भिक अध्ययन सम्पन्न भइसकेकाले विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण प्रक्रिया अघि बढाउने योजना प्रस्तुत गरिएको छ । त्यस्तै १० मेगावाट सिंजा जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउने र तिला नदीको सम्भाव्यता अध्ययनपछि ७२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि पहल गरिने उल्लेख छ।
एक घर एक धारा कार्यक्रममार्फत सुरक्षित खानेपानीको पहुँच विस्तार गरिने, जुम्लाका खेतियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरिने र दुर्गम बस्तीहरूमा टेलिकम सेवा तथा सूचना प्रविधिको पहुँच वृद्धि गरिने प्रतिबद्धता गरिएको छ । हरेक सामुदायिक विद्यालयमा छात्रावाससहित सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना पनि प्रतिज्ञा–पत्रमा समावेश छ ।
जुम्लाको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र जडीबुटी क्षेत्रमा व्यावसायिकरणलाई जोड दिइएको छ । एक घर एक स्याउ बगैंचा र एक घर एक रोजगारी कार्यक्रम मार्फत स्थानीय युवालाई उत्पादन र आयआर्जनसँग जोड्ने योजना अघि सारिएको छ ।
स्याउ, आलु, सिमी, जौ, फापर, ओखर, अखरोट, जडीबुटी लगायतका उत्पादनको प्रशोधन र बजारीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ । जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यमा अनुसन्धान र मूल्य अभिवृद्धि गर्ने योजना प्रस्तुत गरिएको छ ।
व्यावसायिक तरकारी तथा फलफूल खेतीलाई प्रोत्साहन गर्न अनुदान, प्राविधिक सहयोग र बजार सुनिश्चितता प्रदान गरिने उल्लेख छ । उत्कृष्ट किसानलाई पुरस्कार र सम्मानको व्यवस्था गरी कृषिलाई आकर्षक पेशाका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयको गुणस्तर उकास्न कम्प्युटर ल्याब, प्राविधिक शिक्षा र अतिरिक्त कक्षा सञ्चालन गरिने योजना उल्लेख गरिएको छ । शिक्षक दरबन्दी मिलान, विद्यार्थी अनुपात अनुसार शिक्षक व्यवस्थापन र विद्यालयमा नैतिक शिक्षा सुदृढीकरण गर्ने प्रतिबद्धता गरिएको छ ।
कर्णाली प्राविधिक शिक्षालयलाई प्राविधिक विश्वविद्यालयका रूपमा विकास गर्न पहल गरिने प्रतिज्ञा गरिएको छ । जडीबुटी उत्पादन र प्रशोधनसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गरी स्थानीय स्रोतलाई सीप र शिक्षासँग जोड्ने योजना पनि समावेश छ ।
जुम्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने स्पष्ट योजना प्रतिज्ञा–पत्रमा उल्लेख छ । सिंजा उपत्यकाको ऐतिहासिक महत्व उजागर गर्दै कनकसुन्दरी, विराट दरबार, पाण्डव गुफा, तातोपानी, चन्दननाथ मन्दिर, भैरवनाथ, पातारासी हिमाल लगायतका धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रचार–प्रसार गरिने उल्लेख छ ।
जुम्लाका ऐतिहासिक मठ,मन्दिर तथा पुरातात्विक संरचनाको संरक्षणका लागि आवश्यक कानुनी र बजेटीय पहल गरिने प्रतिज्ञा गरिएको छ । पातारासी क्षेत्रमा हाई–अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गरी खेलकुद पर्यटन प्रवर्द्धन गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
युवालाई विदेश पलायन हुन नदिन स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य प्रतिज्ञा–पत्रमा देखिन्छ । कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार विकाससँग जोडिएका आयोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरिने दाबी गरिएको छ ।
महिला, दलित, जनजाति तथा पछाडि परेका समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। स्थानीय समुदायलाई विकास आयोजनामा शेयरधनी बनाउने नीति ल्याइने प्रतिबद्धता पनि गरिएको छ।
प्रतिज्ञा–पत्र सार्वजनिक गर्दै उम्मेदवार शाहीले सत्ता प्राप्तिका लागि होइन, सेवाका लागि उम्मेदवारी दिएको” बताएका छन् । उनले जुम्लाको समग्र विकासका लागि संघीय सरकारसँग सहकार्य गर्दै दीर्घकालीन योजना कार्यान्वयन गर्ने अठोट व्यक्त गरे ।
समानुपातिक उम्मेदवार बडुवालले महिला सहभागिता र समावेशी विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन् । चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको जुम्लामा कांग्रेसको यो विस्तृत प्रतिज्ञा–पत्रले मतदातामाझ नयाँ बहस सुरु गरेको छ ।
अब मतदाताले कागजी प्रतिबद्धतालाई व्यवहारमा कसरी उतारिन्छ भन्ने प्रश्नमा उम्मेदवारहरूको विश्वसनीयता परीक्षण गर्नेछन् । निर्वाचनको मिति नजिकिँदै गर्दा जुम्लामा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र विकासका आश्वासनको होडबाजी बढ्दो छ ।
यद्यपि, मतदाताले यसपटक भावनाभन्दा कामको आधारमा निर्णय गर्ने संकेत दिएका छन्। कांग्रेसको यो प्रतिज्ञा–पत्रले जुम्लाको विकास बहसलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।





