जुम्ला । सिंजा गाउँपालिका अन्तर्गत चुलेलगाउँ तथा आसपासका बस्तीहरू यतिबेला बौलाहा कुकुरको आतंकले त्रसित बनेका छन् । गाउँमा अनियन्त्रित रूपमा घुमिरहेको कुकुरले स्थानीयलाई तर्साउन थाले पछि प्रशासनले सतर्कता अपनाउन सर्वसाधारण लाई आह्वान गरेको छ ।

सिंजा क्षेत्रको चुलेलगाउँमा केही दिन देखि असामान्य व्यवहार देखाउँदै एउटा कुकुर जथाभावी दौडिने, भुक्ने र मानिस तर्फ झम्टिने प्रयास गर्ने गरेको जानकारी आए पछि स्थानीय बासी भयभीत भएका हुन् ।
विशेष गरी बालबालिका र वृद्धवृद्धा घर बाहिर निस्कँदा जोखिम बढेको भन्दै अभिभावकहरू चिन्तित देखिएका छन्।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुखको निर्देशनमा उक्त कुकुरलाई नियन्त्रणमा लिन सुरक्षा निकाय परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन बाबू रेग्मीले कुकुरको अवस्था बारे सूचना प्राप्त भए सँगै प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। उनका अनुसार, कुकुरको गतिविधि अस्वाभाविक देखिएको छ ।
डिएसपी रेग्मीले भने, स्थानीयलाई सुरक्षित रहन र कुनै पनि हालतमा कुकुरको नजिक नजान अनुरोध गरेका छौँ।
प्रहरीले चुलेलगाउँ आसपासका क्षेत्रमा निगरानी बढाएको छ भने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक समन्वय भइरहेको जनाएको छ।
डिएसपी रेग्मीले कसैले उक्त कुकुर देखेमा तुरुन्त नजिकको प्रहरी चौकी वा सुरक्षाकर्मीलाई खबर गर्न आग्रह गरेका छन् । आफैं नियन्त्रणमा लिन खोज्दा झन जोखिम बढ्न सक्ने हुदा त्यस्ताे कार्य काेही कसैले नगर्न सुझाव दिए ।
उता, गाउँपालिकाले पनि औपचारिक सूचना जारी गर्दै सबै वडाबासीलाई सचेत रहन अनुरोध गरेको छ । गाउँपालिकाका पुर्ण धितालका अनुसार, बौलाहा कुकुरले हिजो मात्रै सिंजाको नराकोट क्षेत्रमा दुई देखि तीन जनालाई त्रसित बनाएको घटना बाहिर आएको छ ।
यद्यपि कसैलाई टोकेको पुष्टि नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन पत्राचार गरिएको उनले बताए ।
स्थानीय गगन तिरूवाका अनुसार कुकुरले बस्ती भित्र अनियमित रूपमा दौडिने, घरआँगन वरिपरि घुम्ने र बाटो हिँड्ने मानिस तर्फ आक्रामक व्यवहार देखाउने गरेको छ। यसले गर्दा विद्यालय जाने बालबालिका तथा खेतबारी जाने किसानहरू असहज बनेकाे बताए ।
बौलाहा कुकुरको टोकाइ अत्यन्तै खतरनाक हुन सक्छ । रेबिजको संक्रमण भएमा ज्यानै जाने जोखिम हुने भएकाले कुनै पनि शंकास्पद घटनालाई सामान्य रूपमा नलिन पालिकाले सुझाव दिइएको छ ।
प्रशासनले अवस्था नियन्त्रणमा नआएसम्म भीडभाड नगर्न, बालबालिकालाई एक्लै बाहिर नछोड्न र अपरिचित कुकुर देखेमा सतर्क रहन आग्रह गरेको छ । सिंजाको शान्त बस्तीमा अचानक देखिएको यस त्रासदीपूर्ण अवस्थाले स्थानीयलाई सचेत र सजग बन्न बाध्य बनाएको छ ।





