जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–८, बङ्तडी गाउँका आगलागी पीडितलाई राहत सहयोग प्रदान गरिएको छ । आगलागी बाट सम्पूर्ण क्षति बेहाेरेका एक परिवारका सदस्यलाई तत्कालको समस्या समाधान गर्न गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।

बङ्तडीका आगलागी पीडित सन्देश कुमार शाहीकाे परिवारलाई राहत सहयोग गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले जानकारी दिए ।
उनका अनुसार, दैनिक छाक टार्ने सम्मका वस्तु नजोगिएका पीडितलाई पहिलो आवश्यकता गाँस, बास र कपासका लागि सामग्री प्रदान गरिएको उनले जानकारी दिए ।
राहत स्वरूप चामल, पीठो, चिउरा, तेल, पाल, मसला, कम्बल, बाल्टिन र पिडित परिवारका सदस्यलाई लगाउने लत्ताकपडा जग लगायतका सामग्री सहयाेग गरिएको अध्यक्ष चाैलागाईले जानकारी दिए । साथै खाना पकाउने ग्यास समेत सहयाेग गरिएको छ ।
बिहीबार राति करिब १० बजे तिर घरमा आगो लागेको थियाे । उक्त समयमा घरमा कोही पनि नभएकाले मानवीय क्षति भने हुन नपाएको शाहीकाे भनाइ छ । आगलागीबाट तीन तले नौ कोठे घर पूर्ण रूपमा ध्वस्त भएको थियाे ।
तर घरभित्र रहेका लत्ताकपडा, गरगहना तथा नगद रकम समेत जलेको परिवारले जनाएको छ । शाहीका बुबा दिलबहादुर शाही जडीबुटी व्यापारी भएकाले घरमा नगद रकम पनि रहेको र सो समेत जलेको हुन सक्ने अनुमान गरिएको छ ।
राति करिब १० बजेबाट सुरु भएको आगो शुक्रबार बिहान करिब ५ः३० बजेतिर नियन्त्रणमा आएको थियो । स्थानीयवासी र प्रहरी चौकी टोप्लाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





