काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन ।
पछिल्लो ७ हप्तादेखि मैदानबाहिर रहेकी भण्डारीका अनुसार यसअघि गरिएको एसीएल (ACL) शल्यक्रियामा राखिएको ग्राफ्ट र एमसिएल (MCL) दुवैमा गम्भीर क्षति पुगेको छ। चिकित्सकले पुनः जटिल शल्यक्रिया आवश्यक रहेको बताएका छन ।

यस अघि चोट लाग्दा अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा उपचार व्यवस्थापन सहज भएको स्मरण गर्दै भण्डारीले यसपटक भने अपेक्षित सहयोग नपाएको गुनासो गरेकी छन ।
उनका अनुसार क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट प्रक्रिया अघि बढाउने बताएपछि प्रारम्भिक तयारी रोकिएको थियो। तर पछि प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिइएको र नगद ५ लाख रुपैयाँसम्म सहयोग गर्ने प्रस्ताव आएको उनले बताइन्। यसले उपचार प्रक्रिया झन्डै दुई महिना ढिलो भएको उनको भनाइ छ।
कतारको अस्पेटारमै उपचार गर्ने चाहना
भण्डारीलाई हाल क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउने तयारी देखाएको छ। तर उनले अघिल्लो पटक उच्चस्तरीय उपचार पाएको Aspetar (कतार) मै पुनः उपचार गराउने इच्छा व्यक्त गरेकी छन् ।
क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापनासहित करिब ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान रहेको छ। सो रकम अपुग हुने भएकाले उनले समर्थकहरूसँग सहयोगको याचना गरेकी हुन ।
सरकारमार्फत पनि सहयोगको पहल भएको जनाउँदै भण्डारीले सरकारी प्रक्रिया अपेक्षा अनुसार अघि नबढ्दा शल्यक्रिया ढिलो भएको बताइन्। समयमै उपचार नहुँदा करियरमै असर पर्न सक्ने चिन्ता उनले व्यक्त गरेकी छन । “थाकेको हो, हारेको छैन”
इजरायल, फ्रान्सदेखि न्युजिल्यान्ड र अष्ट्रेलियासम्म खेल्दा सधैं राष्ट्रकै पहिचान बोकेको महसुस गरेको उल्लेख गर्दै उनले आफूले देशका लागि सधैं शतप्रतिशत दिएको बताएकी छन ।
“यो मेरो करियरकै सबैभन्दा कठिन लडाइँ हो। तर म थाकेको हो, हारेको छैन। पुनः नेपालको जर्सी लगाएर मैदान फर्कनेछु,” भण्डारीले भनेकी छन ।
आर्थिक रूपमा अहिलेसम्म नआर्जेको रकम उपचारका लागि आवश्यक परेको उल्लेख गर्दै उनले नेपालभित्र रहेका समर्थकलाई QR तथा बैंकमार्फत सहयोग गर्न आग्रह गरेकी छन ।
नेपाली महिला फुटबलको इतिहासमा महत्वपूर्ण योगदान दिएकी कप्तान भण्डारीको यो अपिलले खेलकुद क्षेत्रमा खेलाडी सुरक्षाको प्रश्न पनि पुनः उठाएको छ ।





