जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले डढेलो नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाका तीनवटै सुरक्षा निकायलाई आवश्यक सामाग्री हस्तान्तरण गरेकाे छ ।

वन डढेलो नियन्त्रण सप्ताहको अवसर पारेर शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको विपद् व्यवस्थापन युनिटलाई आवश्यक उपकरण प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले औपचारिक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गर्दै डढेलो नियन्त्रणमा समन्वय र तयारी अपरिहार्य रहेको बताए ।
डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाका अनुसार डढेलो तथा आगजनीका घटनामा अग्रपंक्तिमा खटिने सुरक्षा निकायलाई लक्षित गर्दै उपकरण उपलब्ध गराइएको बताए ।
उनका अनुसार सीमित स्रोत साधनका बीच पनि जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वासका साथ सामग्री वितरण गरिएको बताए । उनले भने, डढेलो नियन्त्रणमा प्रयोग हुने विशेष सुरक्षात्मक कपडा र फलामे औजारहरू हस्तान्तरण गरिएको छ।
नेपाली सेनालाई १२ थान, सशस्त्र प्रहरीलाई १२ थान र नेपाल प्रहरीको विपद् युनिटलाई १० थान गरी कुल ३४ थान सामाग्री वितरण गरिएको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलले विपद् व्यवस्थापनमा सबै निकायबीचको सहकार्य र तत्काल प्रतिक्रिया प्रणाली सुदृढ बनाउन यस्ता पहल महत्वपूर्ण हुने उल्लेख गरे ।
उनले डढेलो जस्तो संवेदनशील विपद् नियन्त्रणमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।
डढेलो नियन्त्रण सप्ताह अन्तर्गत जिल्लाभर सचेतनामूलक कार्यक्रम, अभिमुखिकरण तथा जोखिम न्यूनीकरणसम्बन्धी गतिविधिहरू पनि सञ्चालन भइरहेका छन् ।
यस्ता कार्यक्रमले समुदायस्तरमै सचेतना बढाउँदै सम्भावित क्षति कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । जुम्लामा हरेक वर्ष गर्मीयामसँगै वन डढेलोको जोखिम बढ्ने गरेको छ। यस वर्ष समयमै तयारी थालिएकाले डढेलो नियन्त्रणमा सहजता आउने सरोकारवालाको विश्वास छ ।





