जुम्ला । जुम्लामा सरकारी सम्पत्तिको चरम दुरुपयोग भएको गम्भीर घटना बाहिर आएको छ । सरकारी नम्बर प्लेट बोकेको बाइक नै मदिरा सेवन (मापसे) अवस्थामा भेटिएपछि राज्य संयन्त्र भित्रको लापरबाही र गैरजिम्मेवारी देखिएको छ ।

आइतबार साँझ जिल्ला ट्राफिक कार्यालय जुम्लाले नियमित मापसे चेकजाँच गर्ने क्रममा क १ ब १८६ नम्बरको सरकारी बाइक नियन्त्रणमा लिएको थियो। तर, यो केवल ट्राफिक नियम उल्लंघनको घटना मात्र नभई सरकारी सम्पत्तिको दुरुपयोगको ज्वलन्त उदाहरण बनेको छ ।
प्रत्यक्षदर्शीका अनुसार उक्त बाइकमा सवार व्यक्ति मादक पदार्थ सेवन गरेर लथालिंग अवस्थामा थिए। ट्राफिक प्रहरीले आवश्यक कारबाही स्वरूप जरिवाना तिराएर छाडे पनि घटनाले गम्भीर प्रश्न उठाएको छ ।
सरकारी बाइकमा मापसे गरेर सडकमा हुइँकिने व्यक्ति आखिर को हो हुन् ? झनै चकित पार्ने कुरा के भने, उक्त बाइक कुन कार्यालयको हो भनेर सोध्दा सवार व्यक्तिले मलाई थाहा छैन भन्ने जवाफ दिएका छन् ।
सरकारी नम्बर प्लेट भएको सवारी चलाउने व्यक्तिलाई नै स्रोत र जिम्मेवारीबारे जानकारी नहुनु आफैमा शंकास्पद देखिन्छ । यो घटनाले दुईवटा गम्भीर प्रश्न उठाएको छ । पहिलो, के सरकारी कर्मचारीहरूले राज्यका सवारी साधन व्यक्तिगत प्रयोगका लागि मनपरी रूपमा प्रयोग गरिरहेका छन् ?
दोस्रो, के ती सवारी अन्य व्यक्तिलाई समेत जिम्मेवारी विहीन ढंगले दिइँदै आएका छन् ?
सरकारी साधन निजी प्रयोजनमा प्रयोग हुनु नौलो होइन, तर मापसे गरेर सडकमा कुदाउनु भनेको राज्यकै सम्पत्ति माथि खुल्ला दुरुपयोग हो । सम्बन्धित निकाय सँग यस्ता घटनामा कडा छानबिन र कारबाहीको हुन जरुरत रहेकाे छ ।
सरकारी साधन जनताको करबाट सञ्चालन हुने सम्पत्ति हो । यस्तो सम्पत्तिको प्रयोगमा उच्च जिम्मेवारी, पारदर्शिता र अनुशासन आवश्यक पर्छ। तर जुम्लामा देखिएको यो घटनाले ती सबै मापदण्डलाई चुनौती दिएको छ ।
अब प्रश्न उठ्छ के यो घटनालाई सामान्य ट्राफिक कारबाहीमै सीमित गरिनेछ, वा सम्बन्धित निकायले गहिरो छानबिन गरी दोषीलाई कारबाही गर्नेछ ? यदि यस्ता घटनामा कडाइ गरिएन भने, राज्य सम्पत्तिको दुरुपयोग झन् मौलाउने खतरा देखिन्छ।
सरकारी बाइकमा मापसे गरेर हिँड्ने व्यक्तिको पहिचान अझै सार्वजनिक भएको छैन । तर, यो घटनाले स्पष्ट सन्देश दिएको छ जवाफदेहिता बिना राज्य संयन्त्र चल्दैन । अब हेर्न बाँकी छ, जिम्मेवार निकायले कस्तो कदम चाल्छ ।





