विज्ञप्ति विवादमा सचिबको कडा सन्देश“नेपाली कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो”

जुम्ला । एकै संवेदनशील राष्ट्रिय विषयमा फरक–फरक प्रेस विज्ञप्ति सार्वजनिक भएपछि नेपाली कांग्रेस भित्र देखिएको अन्योल बीच प्रदेश निर्वाचन क्षेत्र ‘क’ जुम्लाका सचिव तिर्थ राज न्यौपानेले सशक्त र स्पष्ट धारणा सार्वजनिक गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै पार्टीको असंगत सन्देश प्रति गम्भीर आपत्ति जनाएका छन ।
प्रदेश सचिबले एउटै विषयमा दुई फरक विज्ञप्ति आउनुलाई “गम्भीर मात्र होइन, गैरजिम्मेवार कार्य” भन्दै यस्तो कदमले पार्टीका कार्यकर्ता र आम नागरिकमा अन्योल सिर्जना गरेको बताएका छन । उनका अनुसार यस्तो अवस्था दीर्घकालीन रूपमा पार्टीको विश्वसनीयता मात्र होइन, समग्र लोकतान्त्रिक अभ्यासमै नकारात्मक असर पार्ने खतरा हुन्छ ।
उनले स्पष्ट शब्दमा भनेका छन , “नेपाली कांग्रेस कमजोर हुनु, अनिर्णीत हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो ।” नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका खेलेको दलले यस्ता संवेदनशील विषयमा अस्पष्ट सन्देश दिनु स्वयं लोकतान्त्रिक मूल्य र संस्था माथिको विश्वास कमजोर बनाउने कारक बन्न सक्ने उनको तर्क छ ।
प्रदेश सचिबले भदौ २३ र २४ मा भएको ‘जेन्जी आन्दोलनका घटनाक्रम प्रति पनि गम्भीर ध्यानाकर्षण गराएका छन । ती घटनामा नवजवान विद्यार्थीको हत्या, राष्ट्रिय सम्पदामा क्षति, तथा व्यवसायिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयहरूमा आगजनी जस्ता हिंसात्मक गतिविधि भएको उल्लेख गर्दै उनले यस्ता घटनाको निष्पक्ष छानबिन अनिवार्य रहेको बताएका छन् ।
“दोषी जोसुकै होस्, जुनसुकै दल, पद वा समूह सँग सम्बन्धित किन नहोस्, सत्य तथ्यका आधारमा छानबिन गरी नेपालको प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनुपर्छ ” भन्दै उनले जोड दिएका छन ।
उनका अनुसार विधिको शासन कायम राख्न भावनात्मक वा राजनीतिक दबाब भन्दा माथि उठेर निष्पक्ष न्याय सुनिश्चित गर्नुपर्ने हुन्छ ।
त्यससँगै उनले पार्टी नेतृत्वलाई एकता, स्पष्टता र विधि विधानअनुसार निर्णय प्रक्रियालाई मजबुत बनाउन आग्रह गरेका छन् । “व्यक्तिगत धारणा होइन, संस्थागत निर्णय नै पार्टीको आधिकारिक आवाज हुनुपर्छ,” उनले भनेका छन्। यस्तो विषम परिस्थितिमा नेतृत्वले जिम्मेवारी पूर्वक एकीकृत धारणा ल्याउन नसके कार्यकर्ता तहमा निराशा र विभाजन बढ्ने चेतावनी उनले दिएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार, प्रमुख लोकतान्त्रिक दलभित्र देखिने कमजोरीले केवल पार्टीलाई मात्र होइन, समग्र लोकतान्त्रिक प्रणालीलाई असर पार्छ। स्पष्ट नीति, सुसंगत सन्देश र विधिसम्मत निर्णय प्रक्रियाबिना लोकतन्त्रको आधार कमजोर हुने उनीहरूको बुझाइ छ।
हाल, पार्टीभित्र यस विषयमा छलफल तीव्र बन्दै गएको बताइन्छ। कार्यकर्ता तहबाट न्यौपानेको अभिव्यक्तिलाई समर्थन गर्दै नेतृत्वले छिटो स्पष्ट, एकीकृत र जिम्मेवार धारणा सार्वजनिक गर्नुपर्ने माग बढ्दै गएको छ ।
एकातिर भदौ २३/२४ का हिंसात्मक घटनामा निष्पक्ष छानबिन र कानुनी कारबाहीको आवश्यकता छ भने अर्कोतर्फ पार्टीभित्र स्पष्टता र एकताको अभाव हटाउनु नेपाली कांग्रेस का लागि अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ। किनकि न्यौपानेकै शब्दमा, “पार्टी बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छ ।”
दुई फरक बिज्ञप्ति






