काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राई ले प्रधानमन्त्री बालेन्द्र शाह ले बोलाएको छलफल बैठक बहिष्कार गर्ने घोषणा गरेका छन्। उनले सरकारको प्राथमिकता कोठे छलफल नभई संसद सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री शाहले सोमबार सिंहदरबारमा प्रदेशगत रूपमा सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेका थिए। तर साम्पाङले उक्त छलफलमा सहभागी नहुने स्पष्ट पार्दै सरकारको शैलीप्रति असन्तुष्टि जनाएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, “प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाहा भएन। हामी कोठे बैठकमा आउँदैनौँ, सदनको बैठक बोलाउनुपर्छ ।”
उनले संसद नियमित सञ्चालन हुनुपर्ने माग पनि अघि सारेका छन्। “हप्तामा कम्तीमा एकपटक बैठक बस्नुपर्छ। जनताका प्रश्नबाट भाग्न पाइँदैन, सबै प्रश्नको उत्तर दिनैपर्छ,” उनले उल्लेख गरेका छन् ।
साम्पाङको यो अभिव्यक्तिले सरकार र संसदबीचको समन्वय, उत्तरदायित्व र लोकतान्त्रिक अभ्यासबारे पुनः बहस चर्काउने संकेत गरेको छ। संसद अवरुद्ध भइरहेका बेला ‘कोठे छलफल’ भन्दा औपचारिक सदन सञ्चालनलाई प्राथमिकता दिनुपर्ने उनको अडानले राजनीतिक वृत्तमा नयाँ दबाब सिर्जना गर्ने देखिन्छ ।





