जुम्ला । हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीहरू लोप हुने जोखिम बढ्दै गएपछि जुम्लामा सरोकारवालाहरू एक ठाउँमा जुटेका छन् । जडिबुटीको संरक्षण र दिगो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै एन्साब जुम्लाले गुठिचौर गाउँपालिका वडा नम्बर १ र २ मा संकलक, व्यापारी र सामुदायिक वनका पदाधिकारीबीच महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सवडिभिजन वन कार्यालयका प्रतिनिधि, सामुदायिक वन समितिका पदाधिकारी तथा जडिबुटी व्यवसायसँग आबद्ध व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।
पछिल्लो समय अव्यवस्थित र असमयमै हुने संकलनका कारण जडिबुटीको अस्तित्व नै संकटमा परेको विषयमा गम्भीर छलफल भएको छ।
वनधारा सामुदायिक वनका अध्यक्ष भिम बहादुर बोहोराले जथाभावी संकलनले जडिबुटी हराउँदै गएको प्रति चिन्ता व्यक्त गरे ।
हाम्रो क्षेत्र जडिबुटीका दृष्टिले धनी भए पनि अनियन्त्रित संकलनले अहिले धेरै प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन्, उनले भने । उनले सामुदायिक वनमार्फत संकलन प्रक्रियालाई व्यवस्थित बनाउने तयारी भइरहेको पनि जानकारी दिए ।
स्थानीय जडिबुटी व्यापारी रतन बोहोराले संकलनको समय नपालन गर्दा समस्या झन् जटिल बन्दै गएको बताए। उनका अनुसार असारमा संकलन गर्नुपर्ने वन लसुन जेठमै टिप्दा त्यसको पुनः उत्पादनमा प्रत्यक्ष असर परेको छ। प्राकृतिक चक्रलाई बेवास्ता गर्दा दीर्घकालीन क्षति भइरहेको छ,उनले चेतावनी दिए।
गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले जडिबुटी संरक्षणका लागि स्पष्ट कार्यविधि निर्माणको आवश्यकता औंल्याए । उनले सवडिभिजन वन कार्यालय र एन्साबका प्राविधिक सहयोगमा दिगो संकलनसम्बन्धी नीति तयार गरी गाउँसभा वा कार्यपालिकाबाट पारित गरेर कार्यान्वयनमा ल्याइने बताए।
जडिबुटी संरक्षणको मुख्य जिम्मेवारी समुदायकै हो, अध्यक्ष बुढाले भने, यदि अहिले नै कडाइ नगर्ने हो भने हाम्रो महत्वपूर्ण स्रोत सधैका लागि नष्ट हुन सक्छ। उनले जडिबुटी स्थानीयको प्रमुख आयस्रोत भएकाले संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
एन्साब जुम्लाका परियाेजना प्रमुख प्रवेश कक्षापतिले जडिबुटीको दिगो व्यवस्थापनका लागि प्रमाणीकरण सम्बन्धी जानकारी दिइएको बताए। उनले हिमाली जडिबुटीहरू तीव्र रूपमा लोप हुँदै गएको भन्दै प्रभावकारी संरक्षण कार्यक्रम तत्काल लागू गर्नुपर्ने आवश्यकता औल्याए ।
उनका अनुसार जडिबुटी संकलनका लागि निश्चित समय तोक्नु अत्यावश्यक छ। अव्यवस्थित संकलनले प्रकृतिको सन्तुलन बिग्रिएको छ, तर समुदाय सक्रिय भए संरक्षण सम्भव छ,उनले विश्वास व्यक्त गरे ।
एन्साबले गुठिचौर गाउँपालिका वडा नम्बर १ र २ का पाँच वटा सामुदायिक वन समितिसँग सहकार्य गर्दै जडिबुटी संरक्षण र दिगो व्यवस्थापनका कार्यक्रम अगाडि बढाउने जनाएको छ।





