जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा भ्रष्टाचार र अनियमितताको जाल दिनप्रति दिन फैलिँदै गएको देखिएको छ । चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश कार्यालय सुर्खेतमा गुठिचौरबाट २३ वटा उजुरी दर्ता भएका छन् ।

एक स्थानीय तहबाट २३ वटा उजुरी दर्ता हुनु सामान्य घटना होइन, यो स्थानीय शासनको भयावह यथार्थको स्पष्ट संकेत देखिएको छ ।
स्थानीय तह पारदर्शी, जवाफदेही र जनमुखी हुनुपर्नेमा उल्टै अनियमितताको अखडा बन्दै गएको आरोपलाई यी तथ्यांकले बलियो बनाएका छन् ।
अझ चिन्ताजनक कुरा के छ भने दर्ता भएका उजुरी मध्ये हालसम्म जम्मा ९ वटा मात्रै फर्छ्योट भएका छन् । बाँकी १४ वटा उजुरी अझै अनुसन्धानकै नाममा अल्झिएका छन्, जसले प्रक्रिया माथि नै प्रश्न उठाएको छ ।
अख्तियारका सूचना अधिकारी धर्मराज बुढाका अनुसार उजुरीहरू विभिन्न प्रकृतिका छन् । विकास निर्माणमा आर्थिक हिनामिना, योजनामा पक्षपात, कर्मचारीको मनोमानी देखि लिएर सार्वजनिक स्रोतको दुरुपयोग सम्म रहेका छन् ।
उनले भने, यति धेरै उजुरी आउँदा पनि प्रभावकारी अनुसन्धान र कारबाही हुन नसक्नुले कसलाई जोगाइँदै छ पालिका ?
स्थानीयवासीहरू भने अब आक्रोशित बन्दै गएका छन् । उनीहरूका अनुसार पालिकामा हुने निर्णय प्रक्रिया अपारदर्शी छ, बजेट कार्यान्वयनमा अनियमितता छ, र जिम्मेवार निकाय मौन बसिरहेको बताएका छन् ।
उजुरी हाल्दा पनि न्याय नपाइने हो भने कहाँ जाने ? भन्ने गुनासो सर्वसाधारणमा बढ्दो छ । यता, राजनीतिक संरक्षण र शक्तिको दुरुपयोगले भ्रष्टाचार मौलाउँदै गएको आरोप पनि चर्को रूपमा उठिरहेको छ ।
उजुरी बढ्नु मात्र समस्या होइन, त्यसको समयमै निष्पक्ष छानबिन र कारबाही नहुनु अझ ठूलो विफलता हो । यसले जनविश्वास माथि गहिरो चोट पुर्याएको छ ।
गुठिचौर गाउँपालिका पालिका लाई सुशासन पालिका बनाउने लक्ष्यका साथ अघि बढेका पालिका अध्यक्ष दान बहादुर बुढाकै पालामा २३ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् ।
बाहिर जनता लाई खाेक्राे भाषणा छाड्ने अध्यक्ष बुढा भित्र भने भ्रष्टाचारले माैलाएकाे पालिका सुधार गर्ने अभियानमा छन् । अध्यक्षकै कारणले पालिकाका लाखाै,कराेडाैकाे सार्वजनिक सम्पत्ति हिनामिना हुनुकाे साथै दुरुपयोग भएको देखिन्छ ।





