मुगु । कर्णाली प्रदेशकै विकट जिल्लाका रूपमा चिनिएको मुगुमा सडक पूर्वाधार विकासतर्फ महत्वपूर्ण कदम चालिएको छ। वर्षौंदेखि दुर्गम यातायात समस्याले ग्रस्त यहाँका नागरिकका लागि अब राहतको संकेत देखिएको छ।
कर्णाली प्रदेशका पूर्वमन्त्री जितबहादुर मल्लको लामो पहल र प्रयासपछि रारा–ताल्छ विमानस्थलदेखि मुगु जिल्लाको सदरमुकाम गमगढी बजारसम्म सडक कालोपत्रे गर्ने योजना अघि बढेको हो। उक्त सडकखण्डका लागि करिब १६ करोड रुपैयाँको ठेक्का आह्वान भइसकेको छ, जसले मुगुको विकास यात्रामा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ।
हालसम्म मुगुमा एउटा पनि सडक पूर्ण रूपमा पिच नभएको अवस्थामा, झन्डै ५ देखि १० किलोमिटर सडक कालोपत्रे हुने तयारीलाई स्थानीयले ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्। वर्षौंदेखि कच्ची सडक र जोखिमपूर्ण यात्रामा निर्भर रहँदै आएका यात्रुहरूले यस योजनाबाट ठूलो राहत पाउने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरू यस कदमप्रति खुसी र उत्साहित देखिएका छन्। उनीहरूका अनुसार, सडक स्तरोन्नतिले यातायात सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ।
यो योजना सफलतापूर्वक कार्यान्वयन भएमा मुगुको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने र कर्णाली प्रदेशकै दुर्गम क्षेत्रको रूपमा रहेको छवि परिवर्तन हुने विश्वास गरिएको छ।







