जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलन चर्किँदा पठनपाठन ठप्प बनेको छ। विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले डिन कार्यालयमा तालाबन्दी गरेपछि एक सातादेखि अध्ययन–अध्यापन पूर्ण रूपमा प्रभावित भएको हो।
परीक्षा र अभ्यास शिक्षण आंशिक रूपमा सञ्चालन भइरहे पनि नियमित कक्षाहरू बन्द छन्। यसले भारतसहित देशका विभिन्न स्थानबाट अध्ययनका लागि आएका विद्यार्थीहरू प्रत्यक्ष मारमा परेका छन्।
एक विद्यार्थीले भने, “हामी दैनिक कलेज त आइरहेका छौं, तर पढाइ नै भइरहेको छैन। विवाद छिटो समाधान गरेर नियमित कक्षा सञ्चालन गरियोस् भन्ने चाहना छ।”
चिकित्सकहरूले गत चैत ३० गतेदेखि डिन कार्यालयमा तालाबन्दी गरेका हुन्। उनीहरूको आरोप अनुसार व्यवस्थापन पक्षले बारम्बार संवादको प्रयासलाई बेवास्ता गरेको छ।
आन्दोलनरत चिकित्सक डा. रविन खापुङ भन्छन्, “शान्तिपूर्ण रूपमा माग राख्दा पनि सुनुवाइ भएन। बाध्य भएर तालाबन्दी गर्नुपर्यो।” उनका अनुसार फ्याकल्टीहरू अनावश्यक प्रशासनिक बोझ र असहज कार्य वातावरणका कारण प्रभावकारी रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेका छन्।
चिकित्सकहरूले योग्य फ्याकल्टीबाटै शैक्षिक पदपूर्ति, १० वर्षदेखि स्थिर रहेको तलबमा मुद्रास्फीतिअनुसार वृद्धि, कार्यसम्पादनमा आधारित करार प्रणाली लागू, जुम्ला आवतजावतको कठिनाइलाई ध्यानमा राखी ‘बाटो म्याद बिदा’ व्यवस्था, तथा फ्याकल्टी विकास समिति गठनजस्ता माग अघि सारेका छन्।
विरोध वक्तव्यमा चिकित्सकहरूले आन्दोलनका कारण विद्यार्थी र सेवाग्राहीमा परेको असहजताप्रति क्षमायाचना व्यक्त गर्दै आफ्ना आधारभूत हक र पेशागत सम्मानका लागि संघर्ष गर्न बाध्य भएको उल्लेख गरेका छन्।
उता प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले चिकित्सकका माग तत्काल सम्बोधन गर्न कठिनाइ रहेको बताएका छन्। “कानुनी प्रावधान र संरचनागत सीमाका कारण तत्काल समाधान सहज छैन, तर हामी समाधानको प्रयासमा छौं,” उनले भने।
हाल प्रतिष्ठानका अधिकांश पदाधिकारी काठमाडौं बाहिर रहेकाले समस्या समाधानमा ढिलाइ भएको बताइएको छ। विवाद चाँडै समाधान नभए शैक्षिक र स्वास्थ्य सेवा दुवै क्षेत्रमा थप असर पर्ने चिन्ता बढ्दो छ।






