नेपाली सांगीतिक इतिहासमा नेपथ्य केवल एउटा ब्यान्डको नाम होइन । यो सांस्कृतिक चेतना, लोकपहिचान र समय सँगै बदलिँदै गएको संगीतको जीवित दस्तावेज हो । यही ब्यान्डको उतारचढावपूर्ण यात्रा, संघर्ष र सफलताको कथा समेटिएको कृति “नेपथ्य लोकप्रिय यात्राको अन्तरङ्ग” लेखक गिरीश गिरीको महत्वपूर्ण कृति हो ।

जसले पाठकलाई केवल संगीतको संसारमा मात्र होइन, नेपालको भूगोल, समाज र मानवीय संवेदनाको गहिराइमा पनि डुबाउँछ ।
पुस्तकको सबैभन्दा आकर्षक पक्ष यसको प्रस्तुति शैली हो। कथात्मक प्रवाह, नियात्राको स्वाद र दस्तावेजीय गम्भीरताको सन्तुलनले यसलाई साधारण जीवनी भन्दा माथि उठाएको छ । पाठकले यसलाई पढ्दा केवल एउटा ब्यान्डको इतिहास बुझ्दैन बरु नेपालको सामाजिक यथार्थ, दुर्गम भूगोल र समयको परिवर्तनसँगै बगिरहेको सांगीतिक यात्राको प्रत्यक्ष अनुभूति गर्छ ।
नेपथ्यको प्रारम्भिक यात्रा १९९० को दशकको सांगीतिक उभार सँग जोडिएको छ । पोखराबाट सुरु भएको यो अभियान अमृत गुरुङ लगायतका युवाहरूको सिर्जनात्मक ऊर्जा र लोकसंगीत प्रतिको लगावले विस्तार हुँदै राष्ट्रिय पहिचानमा रूपान्तरित हुन्छ ।
पश्चिमी संगीतको संरचना र नेपाली लोकधुनको आत्मीय मिश्रणले नेपथ्यलाई विशिष्ट बनाएको पुस्तकले प्रभावकारी रूपमा देखाउँछ ।
यस कृतिको सबल पक्ष भनेको नेपथ्यलाई स्टेज र स्टुडियोको सीमित दायराबाट बाहिर निकालेर नेपालको दुर्गम भूगोलसम्म पुर्याउनु हो । रोल्पा, डोल्पा, कर्णालीका विकट गाउँहरूमा गरिएको सांगीतिक यात्रा केवल कार्यक्रम मात्र नभई स्थानीय जीवन, संस्कृति र पीडा सँगको प्रत्यक्ष साक्षात्कार हो । यिनै अनुभवहरूले नेपथ्यलाई “जनताको ब्यान्ड” का रूपमा स्थापित गरेको पुस्तकले प्रमाणित गर्छ ।
पुस्तकमा प्रस्तुत संखुवासभाको डिल्ले दमाई सँगको भेट, डोल्पाको यात्रामा ‘क्याराभान’ कापात्र थिन्ले सँगको साक्षात्कार तथा “कोशीको पानी, सा कर्णाली , झम्काइदेउ , जोगले हुन्छ भेट , भेडाको उन जस्तो …” जस्ता गीतहरूको उत्पत्तिका प्रसङ्ग हरूले कृतिलाई सांस्कृतिक रूपमा अझ समृद्ध बनाएका छन् । यस्ता विवरणहरूले संगीत केवल सिर्जना होइन जीवन र भूगोल सँग जोडिएको प्रक्रिया हो भन्ने तथ्य उजागर गर्छन ।
तर यो यात्रा केवल सफलताको कथा होइन । विदेश यात्राका क्रममा भोगिएका अपमान, आर्थिक संकट, आयोजक सँगका विवाद र ब्यान्ड सदस्यहरूको पलायनले नेपथ्यलाई पटक–पटक संकटमा पुर्याएको देखिन्छ । कतिपय अवस्थामा ब्यान्ड विघटनको संघारमा पुगेको अवस्थालाई लेखकले इमान्दारीपूर्वक प्रस्तुत गरेका छन ।
यस्तो चुनौतीपूर्ण अवस्थामा नेपालयसँगको सहकार्यले नेपथ्यलाई नयाँ दिशा दिएको देखिन्छ।
व्यवस्थापनको व्यावसायिक ढाँचाले ब्यान्डलाई स्थायित्व प्रदान गरे पनि आन्तरिक मतभेदका संकेतहरू पनि पुस्तकमा झल्किन्छन्, जसले कथालाई यथार्थपरक बनाएको छ ।
पुस्तकको भावनात्मक पक्षलाई अझ गहिरो बनाउने प्रसङ्गहरू पनि उल्लेखनीय छन । बेलायतको वेम्बली एरिनासम्म नेपाली लोकसंगीतको पहुँच, न्युयोर्कको कन्सर्टमा जीवनसँग संघर्ष गरिरहेकी एक दर्शकसँगको संवाद तथा लोकप्रिय गायक अरुण थापाको संघर्षपूर्ण र दुःखद जीवनयात्राले पाठकलाई भावुक बनाउँछ ।
यी प्रसङ्गहरूले संगीतको मानवीय आयामलाई उजागर गर्छन ।
यद्यपि कृतिमा एउटा सूक्ष्म कमजोरी पनि देखिन्छ । कथावस्तु कतिपय ठाउँमा अमृत गुरुङको व्यक्तिगत यात्रामा बढी केन्द्रित भएको अनुभूति हुन्छ । जसले अन्य संस्थापक सदस्यहरूको योगदान अपेक्षाकृत कम उजागर भएको आभास दिन्छ ।
समग्रमा “नेपथ्य लोकप्रिय यात्राको अन्तरङ्ग” नेपाली संगीत, समाज र भूगोलको गहिरो अन्तर सम्बन्ध बुझ्न चाहने पाठकका लागि अनिवार्य कृति हो ।
यसले संगीतलाई केवल मनोरञ्जनको माध्यम होइन, समाजको आवाज र समयको दस्तावेजका रूपमा स्थापित गर्छ ।
अन्तत यो पुस्तकले प्रमाणित गर्छ । नेपथ्य केवल एउटा ब्यान्ड होइन यो नेपाली आत्माको निरन्तर यात्रा हो ।





