काठमाडौँ । त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन्।

कान्तिपुर मिडिया ग्रुप केएमजी को आयोजनामा आज यहाँ भएको २१ किलोमिटरको हाफ म्याराथनअन्तर्गत पुरुषतर्फ रोकाया र महिलातर्फ श्रेष्ठले उपाधि जितेका हुन्।
राजनले एक घण्टा ४.०३ मिनेटमा उक्त दूरी पूरा गरे। पुरुषतर्फ शीर्ष तीनमा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रह्यो । अर्जुन बुढाले उक्त दूरी एक घण्टा ६.०४ मिनेटमा पार गरी दोस्रो र सुशील शाही एक घण्टा ६.५ मिनेटमा पार गरी तेस्रो भए । काठमाडौँका तीर्थ पुन एक घण्टा ७.४२ मिनेटका साथ चौथो, आर्मीकै सञ्जय श्रेष्ठ एक घण्टा ८.०२ मिनेटका साथ पाँचौँ र आर्मीकै नरेन्द्र राउत एक घण्टा ९.०३ मिनेटका साथ छैटौँ भए ।
महिलातर्फ सन्तोषीले एक घण्टा १८.११ मिनेटमा पूरा गरेर विजेता बनेकी हुन् । आर्मीकी निशा पाल एक घण्टा १८.२६ मिनेटका साथ दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २३.१३ सेकेन्डका साथ तेस्रो भए । आर्मीकी निर्मला केसी एक घण्टा २५.५४ मिनेटका साथ चौथो, एपिएफकी फूलमती राना एक घण्टा २८.४३ मिनेटका साथ पाँचौँ र सोनसरी रोकाया एक घण्टा ३२.०३ सेकेन्डका साथ छैटौँ भए।
हाफ म्याराथन पुरुष र महिला तर्फका विजेतालाई रु एक लाख ५० हजार र ट्रफी प्रदान गरिएको थियो । हाफ म्याराथनतर्फ दोस्रोदेखि छैटौँ हुनेले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार प्राप्त गरे।





