जुम्ला । कर्णाली प्रदेशको यातायात क्षेत्रमा देखिएको अव्यवस्थित गतिविधिप्रति जुम्लास्थित यातायात व्यवसायीहरूले गम्भीर आपत्ति जनाएका छन्। तिला कर्णाली यातायात सेवा प्रा.लि.ले जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्र लेख्दै सुर्खेत क्षेत्रमा भइरहेका गतिविधिप्रति ध्यानाकर्षण गराएको हो।

कम्पनीका अनुसार काठमाडौंदेखि नेपालगञ्ज हुँदै सुर्खेत पुग्ने गाडीहरूलाई बीच बाटोमै रोक्दै यात्रुहरूलाई जबरजस्ती ओराल्ने र अन्य गाडीमा चढाउने कार्य भइरहेको छ। यसले यात्रुहरूलाई सास्ती हुनुका साथै व्यवसायीहरूलाई आर्थिक तथा व्यवस्थापनमा समस्या सिर्जना गरेको उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ कि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा केही यातायात व्यवसायीले एकाधिकार शैलीमा गाडी रोक्ने, यात्रु तान्ने र टिकट प्रणालीमा हस्तक्षेप गर्ने कार्य गर्दै आएका छन्। यस्तो कार्यले लामो समयदेखि सञ्चालनमा रहेका कम्पनीहरूलाई अन्याय भएको र यातायात क्षेत्रमै अराजकता बढेको व्यवसायीहरूको गुनासो छ।
यस्तै, जुम्लाबाट छुट्ने गाडीहरूलाई पनि बीच बाटोमा अवरोध गर्ने तथा यात्रु व्यवस्थापनमा समस्या सिर्जना गर्ने काम भइरहेकाले तत्काल रोक्न माग गरिएको छ। व्यवसायीहरूले समान रूपमा कानुन कार्यान्वयन गर्न र सबै यातायात कम्पनीलाई निष्पक्ष व्यवहार गर्न प्रशासनसँग आग्रह गरेका छन् ।
तिला कर्णाली यातायात सेवा प्रा.लि.का अध्यक्ष पदम बहादुर भण्डारीले यात्रुहरूको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न यस्तो गतिविधि नियन्त्रण गर्नु आवश्यक रहेको बताए ।






