जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको गैरजिम्मेवारी र लापरबाहीको पराकाष्ठा अहिले खुल्ला रूपमा देखिएको छ । नगरपालिकाले बजार क्षेत्रबाट संकलन गरिएको फोहोर व्यवस्थापन गर्न नसके पछि त्यसलाई जथाभावी रूपमा रंगशाला नजिकै जलाउने गरेको छ ।

जसका कारण खेलाडी मात्र होइन, सर्वसाधारण नागरिक समेत दैनिक रूपमा धुवाँको मार खेप्न बाध्य भएका छन् ।
जुम्लाको गौरवका रूपमा हेरिएको रंगशाला जहाँ स्वास्थ्य, खेलकुद र अनुशासनको अभ्यास हुनुपर्ने हो । त्यही स्थानलाई नगरपालिकाले फोहोर जलाउने थलोमा परिणत गरेको छ ।
बिहान बेलुका नियमित रूपमा दौडिने खेलाडीहरू अहिले स्वच्छ हावाको सट्टा विषालु धुवाँमा सास फेर्न बाध्य छन् । खेलकुदलाई प्रोत्साहन गर्ने दायित्व बोकेको स्थानीय सरकार नै खेलाडीको स्वास्थ्य सँग खेलवाड गरिरहेको खेलाडीले आरोप लगाएका छन्।
अझ विडम्बना त के छ भने, यही वैशाख २६ गते जुम्लामा जुम्ला–रारा अल्ट्रा म्याराथन जस्तो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुँदैछ । देश तथा विदेशबाट खेलाडीहरू जुम्ला भित्रिने क्रम तीव्र भइरहेको छ ।
यस्तो संवेदनशील समयमा नगरपालिकाको यस्तो लापरबाहीपूर्ण कदमले जुम्लाको छवि नै धुमिल पार्ने खतरा बढेको छ । स्वच्छ वातावरणको अपेक्षा राखेर आएका खेलाडीहरूलाई धुवाँ र दुर्गन्धले स्वागत गरिनु लाजमर्दो विषय भएको रंगशाला वरपरका स्थानीयहरू बताउँछन् ।
स्थानीय बासिन्दाका अनुसार फोहोर जलाउँदा निस्कने बाक्लो धुवाँले आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने खतरा बढेको छ ।
बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । तर नगरपालिकाका जिम्मेवार अधिकारीहरू भने यस विषयमा मौन बसिरहेका छन् ।
कर्णाली स्पोर्ट्स क्लबमा आबद्ध खेलाडी सुदिप बुढ्थापाले आक्रोश व्यक्त गर्दै भने, हामी स्वास्थ्यका लागि दौडिरहेका छौँ। तर नगरपालिकाले हाम्रो स्वास्थ्य नै जोखिममा पारिरहेको उनकाे गुनासाे छ ।
उनले भने, धुवाँका कारण दौडिनै गाह्रो भएको छ ।उनका अनुसार यस्ता गतिविधिले खेलाडीको प्रदर्शनमा मात्र होइन, दीर्घकालीन स्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्छ ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन नसक्नु र सहज विकल्प हुँदाहुँदै पनि सार्वजनिक स्थल नजिकै फोहोर जलाउनु सरासर गैरजिम्मेवारी र जनस्वास्थ्य माथिको खेलवाड भएको स्थानीयहरूको भनाइ छ।
अन्तर्राष्ट्रिय प्रतियोगिता नजिकिँदै गर्दा पनि यस्तो बेवास्ता जारी रहनु झनै लज्जास्पद बनेको छ ।
अब प्रश्न उठेको छ, के चन्दननाथ नगरपालिका खेलाडी र नागरिकको स्वास्थ्यप्रति यति गैरसंवेदनशील छ ? कि जुम्लाको पहिचान र प्रतिष्ठा जोगाउने कुनै जिम्मेवारी उसले लिएको छैन ?
यदि तत्काल यस्तो कार्य रोकिने र व्यवस्थित फोहोर व्यवस्थापनको व्यवस्था गरिने छैन भने, यसको परिणाम गम्भीर हुनसक्ने भन्दै स्थानीयहरूले कडा चेतावनी दिएका छन् ।





