जुम्ला । हिमा गाउँपालिकामा १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । नेत्रज्योति मावि ओदीमा बिहीबार आयोजित उद्घाटन समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जोशीले कर्णालीको प्रकृति, संस्कृति, प्राकृतिक स्रोतसाधन र सिंजा सभ्यताको संरक्षण र प्रवर्द्धनमा युवाहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले राष्ट्रपति रनिङ सिल्डले ग्रामीण क्षेत्रका प्रतिभावान् खेलाडी पहिचान गर्न ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीमा खेलप्रतिको आकर्षण बढाउनुका साथै अनुशासन र आत्मविश्वास विकासमा समेत सहयोग पुर्याउँछ ।
हरेक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगितामा यस वर्ष हिमा गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ। एथलेटिक्स लगायत विभिन्न विधाका खेलहरू समेटिएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।





