जुम्ला । कर्णालीको दुर्गम भूगोलमा खेलकुदको ऊर्जा थप्दै हिमा गाउँपालिका ले १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार प्रतियोगिता वैशाख २२, २३ र २४ गते सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन वैशाख २२ गते बिहान १०:१५ बजे नेत्रज्योति माध्यमिक विद्यालय को प्रांगणमा हुने तय गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्ससहित विभिन्न विधाका खेलहरूमा जुम्लाका ८ वटै स्थानीय तहका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।
प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुसालद्वारा हस्ताक्षरित सूचनामा सबै स्थानीय तहलाई उत्साहजनक सहभागिताका लागि आह्वान गरिएको छ। साथै, खेलप्रेमी, अभिभावक तथा सरोकारवालालाई उपस्थित भई प्रतियोगितालाई सफल बनाउन आग्रह गरिएको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालयस्तरको सबैभन्दा प्रतिष्ठित खेलकुद मञ्च मानिन्छ, जसले ग्रामीण भेगका प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार गर्छ। विशेषगरी कर्णालीजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा यस्ता प्रतियोगिताले खेलकुद संस्कृतिको विकास, अनुशासनको अभिवृद्धि र युवामा सकारात्मक सोच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
हिमामा हुने यस संस्करणले केवल प्रतिस्पर्धा मात्र होइन, जिल्लाभरका युवाबीच सहकार्य, आत्मविश्वास र पहिचान निर्माणको अवसर पनि प्रदान गर्ने विश्वास लिएको पालिका अध्यक्ष लक्ष्मण शाहीले बताउनु भएको छ।





