जुम्ला । गुठीचौर गाउँपालिका–३ मा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी एक दिने अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम सम्पन्न गरिएको छ ।

वैदेशिक रोजगारीका क्रममा हुने ठगी, शोषण तथा विभिन्न जोखिम न्यूनीकरण गर्दै श्रमिकलाई सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा विदेश जान सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
वडा अध्यक्ष इन्द्र बुढाले वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, बीमा, श्रम सम्झौता, सीप तथा भाषा तालिम, स्वास्थ्य परीक्षण लगायत विषयमा जानकारी प्रदान गरिएको बताए ।
वडा अध्यक्ष बुढाले पछिल्लो समय वैदेशिक रोजगारीका नाममा धेरै युवाहरू विभिन्न समस्या र ठगीको सिकार भइरहेको भन्दै सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
उनले सुरक्षित माध्यम बाट मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्दै दलाल र अवैध एजेन्टको प्रलोभनमा नपर्न स्थानीयलाई अनुरोध गरे ।
उनले भने, रोजगारीका लागि विदेश जानु गलत होइन, तर आवश्यक जानकारी र प्रक्रिया पूरा नगरी जाँदा धेरै समस्या भोग्नु परेको अवस्था छ । त्यसैले सुरक्षित वैदेशिक रोजगारीका विषयमा सबैलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए।
अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा कामदारले पाउने सेवा सुविधा, श्रमिक अधिकार, गुनासो व्यवस्थापन, उद्धार प्रक्रिया तथा विदेशमा समस्या परे सम्पर्क गर्न सकिने निकायबारे समेत जानकारी दिइएकाे अध्यक्ष बुढाले जानकारी दिए ।
मानव बेचबिखन तथा वैदेशिक रोजगार ठगीका घटनाबाट बच्न सचेत रहन आग्रह गरिएको छ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले वैदेशिक रोजगारीका विषयमा धेरै जानकारी प्राप्त भएको बताएका छन् ।
उनीहरूले गाउँमै यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदा सही सूचना पाउन सहज भएको प्रतिक्रिया दिएका छन् ।
वडाले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।





