जुम्ला । जिल्ला खेलकुद बिकास समिति जुम्लाको अध्यक्षमा खेलकाे क्षेत्रमा सक्रिय रहेका युवा नरजीत शाहीको आकांक्षा रहेकाे छ । शाहीले सामाजिक संजाल फेसबुकमा जिल्ला खेलकुद विकास समिति जुम्लाको अध्यक्ष पदमा आफ्नो दाबेदारी रहेकाे सार्वजनिक गरेका हुन् ।

देशभर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चयन प्रक्रिया अगाडि बढिरहेका बेला शाहीले आफू जुम्लाको खेल क्षेत्रलाई नयाँ दिशा दिन सक्ने सक्षम र अनुभवी उम्मेदवार भएको बताएका हुन् ।
हिमा गाउँपालिका–५ बुअ निवासी शाही विगत डेढ दशक देखि खेल गतिविधिमा निरन्तर सक्रिय छन् । उनले २०६८ साल देखि फुटबल खेल मार्फत आफ्नो खेल यात्रा सुरु गरेका थिए ।
त्यसयता उनले स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै अनुभव हासिल गरेका छन् । खेलाडीका रूपमा मात्र नभई पछिल्ला पाँच वर्ष देखि प्रशिक्षक र रेफ्रीको भूमिकामा समेत उनले सक्रिय योगदान दिदै आएका छन् ।
शाहीका अनुसार खेल क्षेत्रमा बिताएको लामो अनुभव, अनुशासन र व्यवस्थापन सम्बन्धी बुझाइका आधारमा आफूले नेतृत्वको आकांक्षा राखेको बताए ।
उनका अनुसार, खेल क्षेत्रको वास्तविक समस्या र आवश्यकता आफुले नजिकबाट बुझेको बताए ।उनले भने, अब अनुभवलाई नेतृत्व मार्फत व्यवहारमा उतार्ने समय आएको महसुस गरेको छु।
उनले विगतमा जिल्ला खेलकुद विकास समितिमा राजनीतिक पहुँच र भागबण्डाका आधारमा नेतृत्व चयन हुने परिपाटी रहेको उल्लेख गर्दै अब त्यसमा परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
योग्य, मेहनती र खेल प्रति समर्पित व्यक्तिलाई अवसर दिनुपर्ने उनको भनाइ छ । खेल क्षेत्रलाई राजनीति भन्दा माथि राखेर विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
अध्यक्षमा चयन भए जुम्लाको खेल क्षेत्रलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने स्पष्ट योजना रहेको शाहीले बताएका छन् । उनका अनुसार जिल्लामा नियमित खेलकुद प्रतियोगिता सञ्चालन गरी खेल संस्कृतिको विकास गर्ने जानकारी दिए ।
विद्यालय तथा गाउँस्तर बाट प्रतिभाशाली खेलाडीको पहिचान गर्दै उनीहरूलाई आवश्यक प्रशिक्षण र अवसर प्रदान गर्ने योजना पनि उनले अघि सारेका छन् । त्यसैगरी, विगतमा योगदान दिएका पुराना खेलाडीलाई संरक्षण तथा सम्मान गर्ने नीति अवलम्बन गरिने उनले बताएका छन् ।
शाहीले खेलाडी छनोट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। कुनै पनि प्रकारको पक्षपात वा पहुँचका आधारमा अवसर वितरण हुन नदिने उनको भनाइ छ ।
उनले प्रशिक्षक तथा रेफ्रीहरूको क्षमता अभिवृद्धिका लागि विशेष तालिम कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेका छन्। उनका अनुसार जुम्लाका खेलाडीलाई प्रदेश र राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना आवश्यक छ।
हाल जिल्ला खेलकुद विकास समिति अध्यक्ष चयनका लागि सर्टलिस्ट तयार गर्ने प्रक्रिया जारी रहेको छ । सोही प्रतिस्पर्धामा आफू पनि रहेको उल्लेख गर्दै शाहीले खेलप्रेमी, खेलाडी र सरोकारवालाको साथ पाए जुम्लाको खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।





