जुम्ला । मनसुनजन्य विपद्को जोखिम बढ्न थाले सँगै जुम्लामा नेपाली सेनाले संयुक्त विपद् प्रतिकार्य अभ्यास गरेको छ । चन्दननाथ नगरपालिका–१ दासाँघुमा नेपाली सेनाको देविदत्त गण जुम्लाको नेतृत्वमा विपद् प्रतिकार्य संयुक्त अभ्यास मनसुन–६ सञ्चालन गरिएको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस, स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानीयवासी तथा विभिन्न सरकारी निकायको सहभागिता रहेको थियो ।
कृत्रिम रूपमा सिर्जना गरिएको विपद्का दृश्य मार्फत पहिरो, बाढी, डुबान तथा भीरमा फसेका व्यक्तिको उद्धार गर्ने अभ्यास गरिएको थियो ।
कार्यक्रममा हाइ एंगल रेस्क्यु प्रविधि बाट खोचमा फसेका व्यक्तिलाई डोरीको सहायताले सुरक्षित स्थानमा ल्याउने, नदीमा फसेकाको उद्धार गर्ने, डुबानमा परेकालाई पानी बाट बाहिर निकाल्ने तथा बाढीले बगाएका व्यक्तिलाई सुरक्षित स्थानमा पुर्याउने अभ्यास गरिएको नेपाली सेनाले जनाएको छ ।
जोखिमयुक्त क्षेत्रमा रिभर क्रसिङ मार्फत उद्धार गर्ने अभ्यास समेत प्रदर्शन गरिएको थियो । देविदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले जुम्ला प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले मनसुन अघि नै पूर्वतयारी आवश्यक रहेको बताए ।
उनले विपद् व्यवस्थापनमा समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय नागरिकलाई पनि प्रारम्भिक उद्धारका लागि सक्षम बनाउन अभ्यास गरिएको जानकारी दिए ।
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले विपद्का समयमा नेपाली सेनाले अग्रपंक्तिमा रहेर काम गर्दै आएको बताए । उनका अनुसार, विपद् व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्दै उद्धार सामग्री तथा उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिए ।
त्यस्तै उपमेयर रामदेवी खड्काले वर्षेनी बाढी, पहिरो र डुबानका कारण जुम्लामा जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यस्ता अभ्यासले समुदायमा सचेतना र आत्मविश्वास बढाउने बताइन् ।
२४ नम्बर बाहिनी अड्डाका बाहिनीपति अर्जुन बस्नेतले विपद् आउनु अघि गरिने तयारी नै सबै भन्दा प्रभावकारी सुरक्षा उपाय भएको बताए । उनले विपद्का बेला सडक तथा पुल अवरुद्ध भए पनि डोरी र अन्य उपकरणको प्रयोग मार्फत उद्धार गर्न सकिने सीप विकास गर्नु आवश्यक रहेको धारणा राखे ।
नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाकि सुपर परियाेजना अधिकृत ईश्वरा सुवेदीले विपद्काे समय आउन लागेकाले यस्ताे अभ्यास नागरिकका लागि महत्त्वपूर्ण हुने बताइन् ।
उनका अनुसार रेडक्रस एक सामाजिक र पराेपकारी संस्था भएकाले सँधै नागरिककाे जिउधनकाे सुरक्षामा लागि रहने बताइन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिले केही दिनअघि मनसुन तथा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ अनुमोदन गरिसकेको जनाएको छ ।
योजना अन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा राहत सामग्री, उद्धार संरचना तथा तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी तथा स्थानीय गरी पाँच सयभन्दा बढीको सहभागिता रहेको थियो। स्थानीयवासीले यस्ता अभ्यासले विपद्का बेला अपनाउनुपर्ने सावधानी र उद्धार प्रक्रियाबारे जानकारी प्राप्त भएको बताएका छन्।





