पोखरा । अन्नपूर्ण आधार शिविरबाट सुरु भएको छैटौँ अन्नपूर्ण म्याराथनमा जुम्लाका धावक तथा धाविकाले उत्कृष्ट प्रदर्शन गर्दै पुरुष र महिलातर्फको उपाधि आफ्नो नाममा पारेका छन्। पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ मञ्जु रावत च्याम्पियन बनेका हुन्।

फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकै पहिलो आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको कीर्तिमान बनाएको ७६औँ वर्षगाँठको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रतियोगिता आयोजना गरेको हो।
पुरुषतर्फ कुँवरको शानदार जित
अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी दलबहादुर कुँवरले ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। उपाधिसँगै उनले नगद १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
नेपाली सेनाका तिलकबहादुर सुनुवार ४ घण्टा १० मिनेट ८ सेकेन्डका साथ दोस्रो भए। उनले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे। ४ घण्टा ४९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेका सचिन गुरुङ तेस्रो हुँदै ७५ हजार रुपैयाँ प्राप्त गर्न सफल भए।
प्रतियोगितामा सोमिन गुरुङ चौथो तथा रोजन सिपाली पाँचौँ स्थानमा रहे।
महिलातर्फ पनि जुम्लाकै वर्चस्व
महिलातर्फ मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितिन्। उनले पनि नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
राज्यलक्ष्मी रावल दोस्रो तथा कल्पना बुढा तेस्रो स्थानमा रहिन्। दोस्रो भएकी रावलले १ लाख रुपैयाँ र तेस्रो भएकी बुढाले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
महिलातर्फ शीर्ष तीन स्थान हासिल गर्ने सबै धाविका जुम्लाकै हुनु प्रतियोगिताको विशेष आकर्षण बनेको छ।
उच्च हिमाली मार्गमा रोमाञ्चक प्रतिस्पर्धा
‘सबै मौसमका लागि पर्यटन’ भन्ने नारासहित आयोजित म्याराथन समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको थियो।
प्रतियोगिताको मार्ग अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे आधार शिविर, देउराली, हिमालय, दोभान, सिनुवा, बम्बु, छुमरुङ, तौलु, घुर्जुङ, चुहिले, मेलाञ्चे र कोम्रोङडाँडा हुँदै घान्द्रुकस्थित मेश्रम बराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर टुंगिएको थियो।
अन्तर्राष्ट्रिय पहिचान बनाउने लक्ष्य
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले अन्नपूर्ण म्याराथनलाई खेलकुद र पर्यटन प्रवर्द्धनको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्यका साथ निरन्तर आयोजना गरिने बताए।
प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन हिमालयन एक्स्ट्रीमले गरेको थियो।





