जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर धवलशमशेर राणाको समूहमा १८३ जना लागेको दाबी सार्वजनिक भए पछि जुम्लामा त्यसको सत्यता माथि नै प्रश्न उठ्न थालेको छ ।

सार्वजनिक गरिएको सूचीमा जुम्ला बाट ३० जना रहेको उल्लेख गरिए पनि स्थानीय राप्रपा कार्यकर्ताले अधिकांश नाम अपरिचित रहेको बताएका छन् ।
राप्रपाका केन्द्रीय सदस्य तथा सांसद निकट मानिने हरि थापाले जुम्ला बाट पार्टी परित्याग गरेको भनिएको सूची प्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । उनले सूचीमा रहेका अधिकांश व्यक्तिलाई आफूले नचिनेको दाबी गरेका छन् ।
थापाले भने, जुम्ला बाट ३० जनाले पार्टी छाडेको भनिएको छ । तर सूची हेर्दा २/४ जना बाहेक अरू को हुन्, कहाँका हुन् भन्ने समेत थाहा छैन । वर्षौ देखि पार्टीमा सक्रिय रहेका कार्यकर्ताको नामभन्दा पनि अपरिचित व्यक्तिहरूको नाम राखेर भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताए ।
उनले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा सांसद शाहीलाई हराउन खुलेर सक्रिय भएका केही व्यक्तिहरू अहिले पनि पार्टीभित्र अस्थिरता सिर्जना गर्न लागेको आरोप लगाए ।
जसले हिजो ज्ञानेन्द्र शाहीलाई हराउनुपर्छ भनेर अभियान चलाएका थिए, आज उनीहरू नै राप्रपाको नाम बेचेर राजनीति गर्न खोजिरहेकाे थापाको भनाइ छ ।
जुम्ला राप्रपाका केही कार्यकर्ताले समेत सामाजिक सञ्जाल मार्फत सार्वजनिक सूचीको विश्वसनीयता माथि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार पार्टीको संगठनमा कहिल्यै नदेखिएका र गतिविधिमा संलग्न नरहेका व्यक्तिहरूको नाम समेत सूचीमा समावेश गरिएको छ ।
यता धवलशमशेर राणा पक्षले भने पार्टीभित्रको असन्तुष्टि बढ्दै गएको र त्यसकै परिणाम स्वरूप देशभरबाट नेता–कार्यकर्ता आफ्नो पक्षमा आएको दाबी गरेको छ । तर जुम्लामा भने सार्वजनिक गरिएको सूचीले अपेक्षित प्रभाव पार्न नसकेको देखिएको छ ।
राप्रपा जुम्लाका कार्यकर्ताहरूले वास्तविक सदस्य र सक्रिय कार्यकर्ताको विवरण सार्वजनिक गर्न चुनौती दिँदै “संख्याको राजनीति होइन, संगठनको वास्तविक आधार देखाउनुपर्ने बताएका छन् ।





