जुम्ला । वर्षायाम नजिकिदै जाँदा सम्भावित विपद्का जोखिम न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले पूर्व मनसुन व्यवस्थापनका गतिविधिलाई तीव्रता दिएको छ।

विशेषगरी चन्दननाथ नगरपालिका–६ क्षेत्रमा नाला सरसफाइ, ढल व्यवस्थापन तथा पानीको सहज निकासका लागि आवश्यक पूर्वाधार सुधारका कामहरूलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
बर्सेनि मनसुनी वर्षाका कारण हुने डुबान, सडक क्षति तथा बस्तीमा पुग्ने जोखिमलाई मध्यनजर गर्दै रेडक्रसले स्थानीय समुदाय सँग सहकार्य गरेर विभिन्न सचेतनामूलक तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
यस अभियान अन्तर्गत अवरुद्ध नालाहरू सफा गर्ने, ढलको उचित निकास सुनिश्चित गर्ने तथा जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सुधारका काम भइरहेको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाकी सुपर परियोजना अधिकृत ईश्वरा सुवेदीले मनसुन सुरु हुनु अघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई विशेष महत्व दिइएको बताइन्।
उनले प्राकृतिक विपद् आउनु भन्दा अगाडि नै आवश्यक व्यवस्थापन गर्न सकेमा धनजनको क्षति न्यून गर्न सकिने उल्लेख गरिन् । स्थानीय तह, समुदाय तथा सरोकारवाला निकाय सँगको सहकार्यमा अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनको भनाइ छ ।
त्यस्तै, सामाजिक परिचालक करबिर बहादुर चन्दका अनुसार समुदाय स्तरमा जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन गर्दा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको बताए ।
उनले नाला तथा ढल व्यवस्थापनका कामले वर्षायाममा हुने जलजमाव कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । समुदाय आफै सचेत र सक्रिय बनेमा विपद्को प्रभाव धेरै हदसम्म घटाउन सकिने चन्दकाे भनाइ छ ।
रेडक्रसले पूर्व मनसुन तयारी अन्तर्गत सरसफाइ अभियान सँगै विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम, स्थानीय स्वयंसेवक परिचालन तथा आपत्कालीन अवस्थाको सामना गर्न आवश्यक तयारीलाई समेत सुदृढ बनाइरहेको छ ।
चन्दननाथ नगरपालिका ६ का स्थानीयवासीहरूले पनि रेडक्रसको पहललाई सकारात्मक रूपमा लिएका छन् । समयमै नाला र ढल व्यवस्थापनका काम अघि बढाइएकाले वर्षायाममा हुने समस्या केही हदसम्म कम हुने विश्वास उनीहरूको रहेकाे छ।





