जुम्ला । तातोपानी गाउँपालिका–४ ले गिडिदह क्षेत्रको पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गिडिदह पर्यटन प्रवर्द्धन तथा जलवायु सम्मेलन आयोजना गर्ने भएको छ।

सम्मेलन यही जेठ ३० र ३१ गते गिडिदह क्षेत्रमा सञ्चालन हुने भएको हो । जुम्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित गिडिदह प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा धार्मिक एवं सांस्कृतिक महत्वका कारण पछिल्लो समय पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।
वडा अध्यक्ष अमर बहादुर रोकायाले गिडिदहको पर्यटन विकास सँगै जलवायु परिवर्तनले हिमाली क्षेत्रका प्राकृतिक सम्पदामा पारेको प्रभाव बारे बहस गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए। उनले गिडिदह क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, स्थानीय उत्पादनको प्रवर्द्धन गर्न र पर्यटनमार्फत स्थानीय आर्थिक गतिविधि बढाउन सम्मेलन महत्वपूर्ण हुने बताए।
उनका अनुसार सम्मेलनमा पर्यटन, वातावरण, जलवायु परिवर्तन तथा स्थानीय विकाससँग सम्बन्धित विज्ञ, सरोकारवाला निकाय, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय समुदायको सहभागिता रहनेछ। कार्यक्रममा जलवायु परिवर्तनका चुनौती, प्राकृतिक स्रोत संरक्षण, दिगो पर्यटन विकास तथा स्थानीय तहको भूमिकाबारे छलफल गरिने बताए ।
सम्मेलन अवधिभर विभिन्न सांस्कृतिक देउडा कार्यक्रम, स्थानीय कला–संस्कृतिको प्रदर्शनी, पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया तथा गिडिदह क्षेत्रको अवलोकनसमेत गराइने आयोजकले जनाएको छ।
गिडिदहलाई जुम्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा प्राकृतिक सम्पदाको संरक्षणमा टेवा पुर्याउने अपेक्षासहित सम्मेलनको तयारी तीव्र पारिएको वडा कार्यालयले जनाएको छ ।





