जुम्ला । कर्णाली प्राविधिक शिक्षालय र लक्ष्मी सनराइज बैंक बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्य सहित लक्ष्मी सनराइज बैंक र शिक्षालय बिच हस्ताक्षर भएको हाे ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन हुने लक्ष्मी सनराइज सीप विकास छात्रवृत्ति मार्फत आर्थिक रूपमा कमजोर तथा अध्ययनमा उत्कृष्ट विद्यार्थी लाभान्वित हुने अपेक्षाका साथ दुई पक्ष बिच सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।
छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि लक्ष्मी सनराइज बैंकका चिफ ब्रान्ड स्ट्राटेजी अफिसर भारती पाण्डे र शिक्षालय प्रमुख इन्जिनियर विकल अधिकारी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार आगामी ६ वर्ष सम्म प्रत्येक वर्ष २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
बैंकका अनुसार एक ब्याचका विद्यार्थीका लागि करिब ३० लाख ६६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस कार्यक्रमले आर्थिक अभावका कारण प्राविधिक शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई प्रत्यक्ष सहयोग पुग्ने विश्वास गरिएको छ ।
लक्ष्मी सनराइज बैंक जुम्ला शाखाका प्रबन्धक खड्क प्रसाद देवकोटाले बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै देशभरका विद्यार्थीलाई सहयोग गर्दै आएको बताए ।
उनका अनुसार हाल सम्म देशभर ४ सय भन्दा बढी विद्यार्थीले बैंकको छात्रवृत्ति सुविधा प्राप्त गरिसकेका छन् । एक शाखा, एक विद्यार्थी अभियान मार्फत बैंकले विभिन्न जिल्लामा अध्ययनरत विद्यार्थीलाई निरन्तर सहयोग गर्दै आएको उनले जानकारी दिए ।
शिक्षालयमा हाल डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन इन्जिनियरिङ, डिप्लोमा इन प्लान्ट साइन्स तथा डिप्लोमा इन फरेष्ट्री कार्यक्रम सञ्चालनमा रहेका छन् । साथै विशेष छात्रवृत्ति अन्तर्गत सामान्य चिकित्सा र आईएस्सी एजी विषयको अध्ययन समेत भइरहेको छ। शिक्षालयमा हाल नेपालका विभिन्न जिल्लाबाट आएका करिब ५ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
इन्जिनियर विकल अधिकारीले आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा रुचि र क्षमता भएका विद्यार्थीलाई अवसर प्रदान गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।
उनले मानव विकासको आधार शिक्षा भएकाले राज्यले पनि यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। छात्रवृत्ति कार्यक्रमले धेरै विद्यार्थीको शैक्षिक यात्रालाई सहज बनाउने उनको विश्वास छ।
कर्णाली प्राविधिक शिक्षालय संचालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी र सहकार्य आवश्यक रहेको बताए । उनले विद्यार्थीको भविष्य निर्माणमा योगदान पुर्याउने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै बैंकलाई धन्यवाद व्यक्त गरे ।
त्यसैगरी चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत नवराज जैसीले शिक्षा र स्वास्थ्य नागरिकका आधारभूत आवश्यकता भएकाले राज्यले त्यसको सुनिश्चितता गर्नुपर्ने बताए। कर्णाली प्रदेश शिक्षा तथा स्वास्थ्यका सूचकमा अझै पछाडि रहेको उल्लेख गर्दै उनले शैक्षिक क्षेत्रमा निजी संस्थाको सहयोग प्रशंसनीय रहेको धारणा राखे ।





