जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–३ अन्तर्गत लाछु नजिक ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मंगलबार साँझ करिब ६ बजे क १ त १४ नम्बरको ट्याक्टर सडक बाट करिब २ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
दुर्घटनामा तिला गाउँपालिका–४ का ३५ वर्षीय खर्बेन्द्र शाहीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
उनका अनुसार,सोही गाउँपालिकाको नुवाकोट निवासी ५३ वर्षीय देउमनी सार्की गम्भीर घाइते भएका छन् । घाइते सार्कीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रमुख दाहालले बताए।
डीएसपी दाहालका अनुसार ट्याक्टर जुम्ला बजार बाट सामान बोकेर तिला गाउँपालिका–४ नुवाकोट तर्फ जाँदै थियो। यात्रा क्रममा अनियन्त्रित भई सडक बाट तल खस्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा परेको ट्याक्टर वीर बहादुर शाहीको स्वामित्वमा रहेको प्रहरीले जनाएको छ । घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।





