मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका–१० धैनस्थित जगतमाला माध्यमिक विद्यालयका करिब ३ सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । समाजसेवी युवा रत्न लाल देवकोटाको पहलमा आयोजित कार्यक्रममा पूर्व वनमन्त्री ऐन बहादुर शाहीकाे प्रमुख आतिथ्यमा वितरण गरिएको हाे ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई कापी, कलम लगायत विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व वनमन्त्री शाहीले शिक्षा नै समाज र राष्ट्र विकासको आधारशिला भएको उल्लेख गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा गरिएको लगानी दीर्घकालीन रूपमा देशको भविष्य निर्माणसँग जोडिएको बताए ।
उनले समाजसेवी रत्न लाल देवकोटाले आफ्नै गाउँका बालबालिकाको शैक्षिक उन्नतिका लागि देखाएको सक्रियता प्रशंसनीय र अनुकरणीय रहेको धारणा व्यक्त गरे ।
दुर्गम क्षेत्रमा रहेका गरिब तथा निमुखा परिवारका बालबालिकालाई शिक्षासँग जोडिराख्न यस्ता अभियानले ठूलो भूमिका खेल्छन्,उनले भने, आफ्नो जन्मथलोको विकास र सेवामा समर्पित युवाहरू समाजका सच्चा प्रेरणाका स्रोत हुन् ।
कार्यक्रमका आयोजक समाजसेवी रत्न लाल देवकोटा ले गाउँका आर्थिक रूपमा कमजोर तथा मेहनती परिवारका विद्यार्थीहरूको शैक्षिक यात्रामा केही सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको जानकारी दिए ।
उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
देवकोटाले यसअघि पनि अभियानको पहिलो चरणअन्तर्गत सोरु गाउँपालिका–१० का करिब ३०० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको स्मरण गराउँदै बालबालिकाको शिक्षामा सहयोग पुर्याउने कार्यलाई अझ विस्तार गर्ने योजना रहेको बताए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाले समाजसेवी देवकोटाको योगदानको प्रशंसा गर्दै यस्ता सामाजिक अभियानले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह बढाउनुका साथै समुदायमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासलाई केन्द्रमा राखेर निरन्तर सेवा गर्दै आएका रत्न लाल देवकोटाको यो पहललाई मुगुका बालबालिकाको उज्ज्वल भविष्य निर्माणतर्फको प्रेरणादायी र उदाहरणीय कदमका रूपमा हेरिएको छ।





