जुम्ला । जुम्लामा सिमी खेती किसानहरूको नगदे आम्दानीको महत्वपूर्ण आधार बन्दै गएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर उत्पादन भएको सिमी बिक्री बाट मात्रै १ करोड ३३ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको छ ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार उक्त अवधिमा जिल्ला बाट ३ हजार ६ सय ७१ मेट्रिक टन सिमि उत्पादन बाट १ करोड ३३ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको हाे । जुम्लामा २ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा सिमि उत्पादन हुने गरेकाे छ ।
परम्परागत खाद्यान्न खेती सँगै नगदे बालीको रूपमा सिमी खेती तर्फ किसानहरूको आकर्षण बढ्दै जाँदा यसको उत्पादन र व्यापारिक सम्भावना पनि विस्तार हुँदै गएको कृषि क्षेत्रका सरोकारवालाहरू बताउँछन् ।
जुम्लाको हावापानी र भूगोल सिमी उत्पादनका लागि उपयुक्त मानिने भएकाले पछिल्ला वर्षहरूमा किसानहरूले सिमी खेतीलाई प्राथमिकतामा राख्न थालेका छन् ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लामा सिमी उत्पादनको अवस्था उत्साहजनक भए पनि यसको दिगो बजार व्यवस्थापन भने अझै चुनौतीपूर्ण रहेको छ ।
उनका अनुसार किसानहरूले मेहनतपूर्वक उत्पादन गरे पनि उचित मूल्य, भण्डारण तथा बजार पहुँचको अभावका कारण अपेक्षित लाभ लिन नसकेकाे बताए । सिमी जुम्लाका किसानका लागि महत्वपूर्ण नगदे बालीको रूपमा स्थापित हुँदै गएको प्रमुख अधिकारीकाे भनाइ छ ।
उत्पादनको अवस्था राम्रो छ तर बजार व्यवस्थापन, मूल्य निर्धारण र ढुवानीका विषय अझै चुनौतीकै रूपमा रहेकाे प्रमुख अधिकारीले बताए ।
जुम्लाका अधिकांश ग्रामीण क्षेत्रमा किसानहरूले धान, गहुँ, जौ र आलु सँगै सिमीलाई मिश्रित खेतीका रूपमा उत्पादन गर्दै आएका छन् ।
पछिल्लो समय भने केही किसानहरूले व्यावसायिक रूपमा नै सिमी खेती विस्तार गर्न थालेका छन् । विशेषगरी तातोपानी, चन्दननाथ, कनकासुन्दरी, पातारासी, हिमा तथा तिला, तातोपानी र गुठिचाैर क्षेत्रका किसानहरूले सिमी खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् ।
कृषकहरूका अनुसार जुम्लामा उत्पादित सिमीको स्वाद र गुणस्तर अन्य जिल्लाको तुलनामा राम्रो भएकाले बजारमा यसको माग उच्च छ । तर जिल्ला बाट बाहिरी बजार सम्म उत्पादन पुर्याउन यातायात खर्च, भण्डारण अभाव र बजारको अस्थिरताले समस्या सिर्जना गर्ने गरेको छ ।
तिला ६ का कतिपय किसानहरूले उत्पादन गरेको सिमी स्थानीय व्यापारीमार्फत कम मूल्यमा बिक्री गर्न बाध्य हुने अवस्था अझै रहेको बताउँछन् ।
कृषि विज्ञहरूका अनुसार जुम्लाको सिमीलाई ब्रान्डिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिए यसले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन सक्छ ।
हाल जिल्लामा उत्पादन हुने अधिकांश सिमी स्थानीय बजार तथा सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायतका शहरहरूमा बिक्री हुने गरेको छ ।
कृषि विकास कार्यालयले किसानहरूलाई उन्नत बीउ, प्राविधिक सहयोग तथा व्यावसायिक खेती सम्बन्धी तालिम प्रदान गर्दै आएको जनाएको छ । कार्यालयका अनुसार उत्पादन वृद्धि सँगै बजारीकरण लाई प्राथमिकतामा राखेर आगामी वर्षहरूमा थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।
किसानलाई सहकारी मार्फत संगठित गर्ने, संकलन केन्द्र स्थापना गर्ने तथा मूल्य श्रृंखला विकास गर्ने विषयमा पनि काम भइरहेको जनाइएको छ ।
जुम्लामा सिमी खेतीले केवल आम्दानी मात्रै बढाएको छैन, ग्रामीण समुदायको जीवनस्तर सुधारमा समेत योगदान पुर्याएको देखिन्छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या बढिरहेका बेला गाउँमै कृषि पेशाबाट आम्दानी लिन सकिने उदाहरण सिमी खेतीले प्रस्तुत गरेको स्थानीयहरूको भनाइ छ ।
यद्यपि उत्पादन वृद्धि सँगै बजारको सुनिश्चितता, प्रशोधन उद्योग स्थापना, भण्डारण सुविधा विस्तार तथा ढुवानी व्यवस्थापन लाई प्रभावकारी बनाउन नसकिए किसानहरू निराश हुन सक्ने कृषि क्षेत्रका जानकारहरू चेतावनी दिएका छन् ।
जिल्लामा गत आर्थिक वर्षमा सिमी बिक्रीबाट भएको १ करोड ३३ लाख ९२ हजार रुपैयाँको आम्दानीले जुम्लामा नगदे बालीको सम्भावना बलियो रहेको संकेत गरेको छ। अब उत्पादन सँगै बजारीकरण, ब्रान्डिङ र मूल्य अभिवृद्धिका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिए सिमी खेती जुम्लाको ग्रामीण अर्थतन्त्रलाई थप मजबुत बनाउने आधार बन्न सक्ने देखिएको छ।





