जुम्ला । निर्माण सम्पन्न भएको झण्डै आठ वर्ष पछि जुम्लाको बसपार्क संचालन आउने भएको छ । लामो समय देखि जग्गा व्यवस्थापन सम्बन्धी विवादका कारण प्रयोग विहीन बनेको बसपार्क आगामी असार १० गतेदेखि सञ्चालनमा ल्याइने निर्णय गरिएको हो ।

२०७६ सालमा करिब १ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त बसपार्कमा भवन, नाला, पार्किङ क्षेत्र, टिकट काउन्टर र शौचालय लगायत आवश्यक पूर्वाधार तयार भए पनि सेवा सञ्चालन हुन सकेको थिएन । बसपार्क सम्म पुग्ने पहुँचमार्गमा सात जना जग्गाधनीको निजी जग्गा परेपछि विवाद उत्पन्न हुदा आठ वर्षदेखि अलपत्र परेकाे थियाे ।
बसपार्क सञ्चालनमा नआउँदा जुम्लाको सदरमुकाम खलंगा क्षेत्र नै अस्थायी पार्किङस्थलका रूपमा प्रयोग हुँदै आएको थियो । लामो तथा छोटो दूरीका बस, ट्रक, जीप, टिपर र अटो सडक किनारमै पार्किङ हुँदा बजार क्षेत्रको यातायात व्यवस्थापन प्रभावित भइरहेका थिए ।
बसपार्क सञ्चालनका विषयमा बिहीबार चन्दननाथ नगरपालिका–६ का वडा अध्यक्ष रवि थापाको अध्यक्षतामा यातायात व्यवसायी, जग्गाधनी तथा सरोकारवाला बीच बसेको बैठकले असार १० गते देखि छिनासिम स्थित बसपार्क बाट सबै सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार बसपार्क क्षेत्रको जग्गा व्यवस्थापन तथा यातायात सञ्चालनसँग सम्बन्धित विषयमा जग्गाधनी र व्यवसायीबीच सहमति जुटेपछि सञ्चालनको बाटो खुलेको बताए।
चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बसपार्क सञ्चालन नगरको प्राथमिकतामा रहेको भन्दै आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, बसपार्क सञ्चालन नगरवासीको लामो समय देखिको माग हो । अहिले सबै पक्षबीच सहमति भएकाले अब संचालनमा आउने बताए ।
सञ्चालनका क्रममा देखिने समस्या समाधान गर्न नगरपालिका तयार रहेकाे नगरप्रमुख कठायतकाे भनाइ छ । उनका अनुसार, आवश्यक समन्वय, सहजीकरण र व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने बताए ।
उपप्रमुख रामदेवी खड्काले बसपार्क सञ्चालन सँगै सदरमुकामको यातायात व्यवस्थापनमा सुधार आउने बताइन् । उनले भनिन्, सदरमुकाम क्षेत्रमा वर्षौ देखि अव्यवस्थित पार्किङको समस्या थियो । बसपार्क सञ्चालन भए पछि यातायात व्यवस्थापन सहज हुने बताइन् ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बसपार्क सञ्चालन लाई प्रभावकारी बनाउन प्रशासनले सुरक्षा र समन्वयको भूमिका निर्वाह गर्ने बताए ।
उनले भने, बसपार्क सञ्चालन सँग सम्बन्धित विषयमा प्रशासन सकारात्मक रहेकाे बताए ।
प्रमुख जिल्ला अधिकारी पाैडेलका अनुसार, सुरक्षा व्यवस्थापन तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले सहकार्य गर्ने निर्णय कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।
असार १० गते देखि सवारी साधन बसपार्क बाट सञ्चालन हुनेछन् । मुख्य सडक देखि बसपार्क सम्म जाने पहुँच मार्गको जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाउने, सञ्चालनका क्रममा देखिने समस्या समाधान गर्न सहजीकरण समिति गठन गर्ने, जिल्ला प्रहरी कार्यालय सँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाउने तथा जग्गाधनीहरूले सञ्चालनमा अवरोध नगर्ने निर्णय गरेको छ ।
३ हजार ३ सय ६५ वर्गमिटर क्षेत्रफलमा फैलिएको बसपार्क चन्दननाथ नगर विकास समितिको नाममा रहेको जग्गामा निर्माण गरिएको हो । अब बसपार्क सञ्चालनमा आए पछि सदरमुकाम क्षेत्रको अव्यवस्थित पार्किङ नियन्त्रण हुने, सडक अतिक्रमण घट्ने र यातायात सेवा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।





