जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–३ अन्तर्गत रातामाटा र कोठेसाँघु क्षेत्रमा बेवारिसे अवस्थामा उम्रिएको करिब १०० बोट अवैध अफिम प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार साँझ नियमित गस्तीका क्रममा प्रहरी नायब निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा खटिएको टोलीले उक्त क्षेत्रमा आफैं उम्रिएको अवस्थामा रहेको अफिम फेला पारेको थियो। निरीक्षणका क्रममा भेटिएका सबै अफिमका बोट तत्काल उखेलेर पूर्ण रूपमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागुऔषधजन्य वनस्पतिको उत्पादन, संरक्षण तथा प्रयोग नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइएको छ। अवैध खेती तथा लागुऔषधसँग सम्बन्धित गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायले नियमित गस्ती र सचेतनामूलक अभियान सञ्चालन गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले यस्ता अवैध बोटबिरुवा वा शंकास्पद गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ।





