जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले स्वच्छ, स्वस्थ र सुरक्षित समुदाय निर्माण गर्ने उद्देश्यका साथ खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्द्धन सम्बन्धी वृहत् वास सम्मेलन सम्पन्न गरेको छ।

बिहीबार रूपाकोट आधारभूत विद्यालय, बाँजागाडामा आयोजित सम्मेलनले स्थानीय तह, विद्यालय, समुदाय तथा सरोकारवाला निकायबीच खानेपानी र सरसफाइलाई साझा अभियानका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो।
हिमा गाउँपालिका वास इकाई कार्यालयको आयोजना र रूपाकाेट आधारभुत बिद्यालयकाे समन्वय तथा दिगाे पाेष्ट र दुबाे खबरकाे मिडिया पाट्नरमा कार्यक्रम सम्पन्न गरिएकाे छ ।
सम्मेलनमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बिद्यार्थी, महिला समूह, युवाहरू, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा स्वच्छ खानेपानीको पहुँच विस्तार, सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, फोहोर व्यवस्थापन र स्वस्थ जीवनशैलीका विषयमा विस्तृत छलफल गरिएको छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले खानेपानी र सरसफाइ विकासको आधारभूत आवश्यकता मात्र नभई नागरिकको स्वास्थ्य, सम्मान र समृद्धि सँग प्रत्यक्ष जोडिएको विषय भएको बताए ।
उनले स्वच्छ वातावरण निर्माणका लागि स्थानीय सरकार एक्लैले मात्र सफलता हासिल गर्न नसक्ने उल्लेख गर्दै समुदाय, विद्यालय, आमा समूह, युवा क्लब तथा सबै सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।
अध्यक्ष शाहीले गाउँपालिकाले प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने, खुला तथा स्वच्छ वातावरण निर्माण गर्ने र दीगो सरसफाइ प्रणाली विकास गर्न आवश्यक नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
उनले व्यवहार परिवर्तन नै दिगो विकासको प्रमुख आधार भएकाले जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखिने बताए ।
गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले स्वस्थ समाज निर्माणको पहिलो आधार नै स्वच्छता भएको उल्लेख गर्दै घर, विद्यालय, सार्वजनिक स्थल तथा समुदायमा सरसफाइको संस्कार विकास गर्नुपर्नेमा जोड दिइन् ।
उनले बालबालिका देखि ज्येष्ठ नागरिक सम्म सबैलाई सरसफाइ अभियानमा सहभागी गराउन सके मात्र वास कार्यक्रमको वास्तविक उद्देश्य पूरा हुने बताइन् । साथै उनले महिला तथा बालबालिकाको स्वास्थ्य संरक्षणका लागि सुरक्षित खानेपानी र सरसफाइ अत्यन्त महत्वपूर्ण रहेको धारणा राखिन् ।
सुस्वा परियोजनाकी अधिकृत सुस्मिता शाहीले वास कार्यक्रम केवल पूर्वाधार निर्माणमा सीमित नभई नागरिकको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अभियान भएको बताइन् ।
उनले सुरक्षित खानेपानीको प्रयोग, नियमित हात धुने बानी, शौचालयको सही प्रयोग तथा वातावरणीय सरसफाइलाई दैनिक जीवनको अभिन्न अभ्यास बनाउनुपर्नेमा जोड दिइन् ।
समुदायको सक्रिय सहभागिता र स्थानीय सरकारको प्रतिबद्धताबाट मात्र दीगो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ । सम्मेलनमा सहभागीहरूले स्वच्छता र सरसफाइलाई व्यक्तिगत जिम्मेवारीका रूपमा आत्मसात् गर्दै आफ्नो घर, विद्यालय र समुदायलाई सफा, स्वस्थ र व्यवस्थित बनाउन सामूहिक रूपमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
हिमा गाउँपालिकाले यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै सुरक्षित खानेपानी, गुणस्तरीय सरसफाइ सेवा र स्वस्थ जीवनशैली प्रवर्द्धनका माध्यमबाट स्वच्छ र समुन्नत गाउँपालिका निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।





