काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमाका कारण पाकिस्तानी र सोमालियाली शरणार्थी भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको बताएका छन् ।
सिंहदरबारमा शुक्रबाार आयोजित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महानिरीक्षक कार्कीले पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको बताएका हुन् ।

नेपालका विभिन्न स्थानमा समूह बनाएर बस्ने गरेका यस्ता शरणार्थी लागुऔषध कारोबार लगायतका सुरक्षा संवेदनशीलता उत्पन्न गर्ने क्रियाकलापमा संलग्न रहेको पाइएको उनले जानकारी दिए ।
‘सीमावर्ती क्षेत्रको सुरक्षाका सन्दर्भमा रोहिङ्ग्या शरणार्थीको विषय पनि चुनौतीका रूपमा देखिएको छ । भारततर्फबाट नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोवास गर्ने प्रयास गर्ने रोहिङ्ग्यासहित अन्य देशका नागरिकलाई पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको छ’, उनले भने, ‘उनीहरूमध्ये केही लागुऔषध कारोबारजस्ता अपराधमा संलग्न रहेको पाइएको छ ।’
महानिरीक्षक कार्कीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति नभएका व्यक्तिहरू खुला सीमाको फाइदा उठाउँदै भारत भएर तेस्रो मुलुक जाने गरेको र यसले मानव तस्करीको जोखिम बढाएको बताए। दक्षिण सीमाबाट मल खरिद गर्ने क्रममा केही नेपालीहरू तस्करीको अभियोगमा भारतीय प्रहरीको हिरासतमा रहेको पुष्टि गरे । यस विषयमा ‘पुलिस टू पुलिस’ समन्वय र कुटनीतिक प्रयास भइरहेको र कानूनी प्रक्रिया पूरा गरी उनीहरू छिट्टै रिहा हुने अवस्थामा रहेको उनको भनाइ छ ।
‘हालै दक्षिणी सीमामा मल खरिद–बिक्रीसँग सम्बन्धित तस्करी प्रकरणमा पक्राउ परेका नेपाली नागरिकको विषयमा प्रहरी–प्रहरी समन्वय र कुटनीतिक पहलमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ’, उनले भने ।
सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन नेपाल प्रहरीले नियमित गस्तीका साथै आधुनिक प्रविधिको प्रयोगलाई तिब्रता दिएको छ। उपकरणको सीमितताका बाबजुद पनि संवेदनशील स्थानहरूमा ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुर ९केनाइन० परिचालन गरी निगरानी बढाएको उनले बताए ।





