सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको भागबन्डा टुंगिएसँगै सत्तारुढ नेकपा एमालेले आफ्नो भागमा परेका तीन मन्त्रालयका लागि मन्त्रीको नाम टुंगो लगाएको छ।

एमालेले बुधबार तीन मन्त्रीको नाम फाइनल गर्दै आर्थिक मामिला तथा योजनामन्त्रीमा टेकराज पछाई, सामाजिक विकासमन्त्रीमा जितबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा कलबहादुर हमाललाई जिम्मेवारी दिएको हो।
मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत पाएलगत्तै एमालेबाट नियुक्त तीनै जना मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
मन्त्रालयको भागबन्डा टुंगिएपछि एमालेले आफ्नो जिम्मेवारीमा परेका तीनवटै मन्त्रालयमा मन्त्री पठाएको हो।
यता सत्तारुढ गठबन्धनमा रहेको नेकपाले भने आफ्नो भागमा परेका मन्त्रालयका लागि अझै मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन।





