मुगु । छायानाथ रारा नगरपालिका–१० का जिउला, गाडपानी र चराप बस्तीमा भारी वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले स्थानीयका करिब ५० वटा बाख्रा, गाई, गोरु तथा भैंसी बगाउनुका साथै पानी घट्टसमेत बगाएको स्थानीयले बताएका छन ।
त्यस्तै, बस्तीमा खानेपानी आपूर्ति हुँदै आएको करिब २०० मिटर पाइप बाढीले बगाएपछि तीनवटै बस्तीमा खानेपानीको हाहाकार भएको छ। खानेपानी, पशुपालन तथा अन्न पिस्ने घट्टमा क्षति पुगेपछि स्थानीयको दैनिक जीवन र जीविको पार्जनमा प्रत्यक्ष असर परेको छ ।
स्थानीय बगली बहादुर बुढाका अनुसार भारी वर्षापछि खोलाको बहाव एक्कासि बढ्दा ठूलो क्षति भएको हो। उनले तत्काल खानेपानीको पाइप मर्मत वा नयाँ पाइप जडान गर्नुपर्ने तथा पशुचौपाया र अन्य क्षतिको मूल्याङ्कन गरी प्रभावित परिवारलाई राहत उपलब्ध गराउन माग गरेका छन।
बाढीबाट भएको वास्तविक क्षतिको विवरण भने स्थलगत निरीक्षणपछि मात्र यकिन हुने स्थानीयले बताएका छन।






