जुम्ला । बाजुरास्थित प्रसिद्ध बडिमालिका मन्दिरको कठिन यात्रा सकेर फर्किएको सरकारी टोलीलाई शुक्रबार सदरमुकाम खलंगामा ऐतिहासिक स्वागत गरिएकाे छ । नेपाली सेनाकाे टुँडिखेल मैदानमा सेनाको औपचारिक सलामी, रंगीबिरंगी ध्वजा, बाजागाजाको गुञ्जन र भक्तजनको उत्साहले भरिपूर्ण बनेको थियो ।

यो केवल सरकारी टोलीको फर्काइ मात्र थिएन, यो सदियौँ देखि चलिआएको सांस्कृतिक र धार्मिक परम्पराको निरन्तरताको उत्सव पनि थियो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णु बहादुर महतको नेतृत्वमा प्रशासनबाट ५ जना पुजारी विष्णु प्रसाद उपाध्याय सहित भक्तजनको टोली साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन बडिमालिका प्रस्थान गरेको थियाे ।

जुम्लाका जानकार व्यक्ति चित्रलाल श्रेष्ठले हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार जुम्लाको टोली बडिमालिका जाने प्रचलन रहेकाे बताए ।
नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँच वटा सलामी,ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोली सहित बडिमालिका हिँडेको टोलीलाई आज १८ दिन पछि जुम्लामा भव्य स्वागत गरिएको छ ।
जानकार श्रेष्ठले भने,” परम्परादेखि नै हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । डोटी बाजुराको टोली बडिमालिका आउने र जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ ।

यनका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाउने गरिन्छ । बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । सोहि अनुसार बडिमालिकाबाट टोली आज १७ दिनपछि जुम्ला पुगेकाे छ ।
पहाडका घुमाउरा बाटा, दुर्गम गाउँ, उकाली–ओराली पार गर्दै टोली मुगु हुँदै बडिमालिका पुगेको थियो। तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा पूजा गर्ने परम्परा अनुसार, यो यात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई दुई पुराना राज्यबीचको सांस्कृतिक सम्बन्धको प्रतीक मान्ने गरिएकाे जानकार श्रेष्ठले बताए ।

खलंगामा टोली पुग्दा नेपाली सेनाको टुकुडीले टुँडिखेल मैदानमा औपचारिक सलामी दिएकाे थियाे । फुलमालाले सुसज्जित टोलीका सदस्यहरूलाई स्वागत गर्न जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, लगायत सरकारी उच्च अधिकारीहरू उपस्थित रहेका थिए।
सेनाको सलामी पछि टोलीले बडिमालिकाबाट ल्याएको डोलीलाई बाजागाजा सहित जुम्लाको खलंगा बजार परिक्रमा गराइएकाे छ । परिक्रमा चन्दननाथ भैरवनाथ मन्दिर हुँदै दरबार मालिका मन्दिरमा पुगेर विधिपूर्वक अर्पणमा समाप्त गरिएको छ ।
बडिमालिका तिर्थ यात्रामा जाँदा विशेषगरि मुख्य पुजारी जाने गर्दछन् । धेरै पुजारीहरु दुईतीन चोटी गए तर विष्णुप्रसाद उपाध्याय त्यस्ता पुजारी हुन जो निरन्तर १५ वर्षको बडिमालिका तिर्थ यात्रा गरिसकेका छन् ।

आज बडिमालिकाको तिर्थ यात्राबाट जुम्ला प्रस्थान गर्ने बित्तिकै पुजारी विष्णुप्रसाद उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय जुम्ला,जिल्ला समन्वय समिति जुम्लाले कदर पत्र र सम्मान गरेको छ।
पुजारी विष्णुप्रसादले “आफूले देवताको आशिर्वादले आफूले निरन्तर १५ वर्षसम्म तिर्थयात्रा गरिरहेको र अझै आफू ६० वर्ष पुगिन्जेल सम्म बडिमालिका तिर्थ यात्रा निरन्तर जारी राख्ने बताए । आफ्नो लागि नभइ समाजको लागि यो सेवा गर्दै आइरहेको” उनले बताए। पुजारी उपाध्यायका अनुसार, टोलीले जुम्लाबासीको तर्फबाट पठाइएको ध्वजा र अक्षता नासो अर्पण गर्दै सबैको मनोकामना पूरा होस् भन्ने कामना गरेको बताए ।

दुर्गम गाउँबाट आएका भक्तजनको उत्साह :
टोलीको स्वागतमा मात्र नगरका बासिन्दा होइन, दुर्गम गाउँका भक्तजन पनि बाक्लै आएका थिए । उनीहरूले फुलमाला, अबिर र धार्मिक उत्साहले टोलीलाई सम्मानित गरेका छन् । बजार भर बाजागाजाको आवाज गुन्जिएको थियो र भक्तजनको अनुहारमा गर्व र श्रद्धा मिसिएको देखिन्थ्यो।
यो स्वागत केवल एउटा टोलीको फर्काइ थिएन, यो जुम्लाको धार्मिक आस्था, सांस्कृतिक एकता र पुरातन परम्पराको निरन्तरताको प्रमाण थियो। हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन जुम्लाको सरकारी टाेली बडिमालिका प्रस्थान गर्ने प्रचलन रहदै आएकाे छ ।





