काठमाडौं अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’ मा सहभागी हुन नेपाली ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो।

क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दलगायत पदाधिकारीले टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरे।
बिदाइ कार्यक्रममा उपाध्यक्ष सिंहले नेपाली टोलीबाट उत्कृष्ट प्रदर्शन र सकारात्मक नतिजाको अपेक्षा गरिएको बताए। उनले खेलाडीहरूले मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्नेमा क्यान विश्वस्त रहेको उल्लेख गरे।
अनिलकुमार साहको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा कुशल भुर्तेल, लोकेश बम, मयन यादव, तृतराज दास, कुशल मल्ल, राशिद खान, पवन सर्राफ र दीपक डुम्रे छन्।
त्यस्तै शाहब आलम, विपिन खत्री, रिजन ढकाल, नारायण जोशी, आकाश चन्द र युवराज खत्री पनि टोलीमा समेटिएका छन्।
अस्ट्रेलियाको नर्थन टेरिटोरीमा अगस्ट २१ देखि सुरु हुने प्रतियोगितामा नेपाल ‘ए’ ले लिग चरणमा ६ खेल खेल्नेछ। प्रतियोगिताको उद्घाटन खेलमै नेपालले अगस्ट २१ मा घरेलु टोली ‘एनटी स्ट्राइक’ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।
नेपालले ‘टप एन्ड टी–२० सिरिज’ मा दोस्रो पटक सहभागिता जनाउन लागेको हो। प्रतियोगिता नेपाली युवा तथा उदीयमान खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।





